सल्यानमा पहिलोपटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकामस्थित शारदा नगरपालिकाले जिल्लामा पहिलोपटक नगरबस सञ्चालनमा ल्याएको हो । शुक्रबार श्रीनगरस्थित बसपार्कमा मेयर प्रकाश भण्डारीले नगरबसको सेवा शुभारम्भ गरेका हुन् ।
नेपाली हिन्दुहरूको महान् पर्व बडादसैँमा पूजाआजा गर्न खैरावाङ भगवती मन्दिरसम्म पुग्न भक्तजनलाई लक्षित गरी शुक्रबारबाट श्रीनगरदेखि खैरावाङसम्म नगरबस सञ्चालन गरिएको शारदा नगरपालिकाका प्रवक्ता राजेशकुमार शर्माले बताए । मन्दिरसम्म पुग्ने भक्तजनको भिड र यातायातको सहजताका लागि श्रीनगर खैरावाङ नगरबस सञ्चालनमा आएको शर्माको भनाइ छ ।
पहिलो चरणमा दसैँपश्चात् श्रीनगरदेखि सदरमुकाम खलंगा नगरबस सञ्चालन गरिने मेयर प्रकाश भण्डारीको भनाइ छ । नगरबस नियमित रूपमा चलाएर जनतालाई सेवा दिनु आफ्नो पहिलो कर्तव्य भएको उनको भनाइ छ । बडादसैँ अवधिभर न्यूनतम भाडादर रु. ५० मा श्रीनगरदेखि खैरावाङ मन्दिरसम्मको निर्धारण गरिएको छ ।
विगतमा नगरपालिकाको आन्तरिक राजस्वबाट बस खरिद गरी ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।
दसैँमा मन्दिरसम्म पुग्न महँगोमा अन्य सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यतामा नगरपालिकाले सस्तो दरमा नै मन्दिरसम्म पुग्न बस सञ्चालन गरेकोमा निकै खुसी लागेको सिद्ध कुमाख गाउँपालिकाकी दुर्गा बुढाथोकीले बताइन् । उनले भनिन्, ‘मन्दिर जान भनेर श्रीनगर बसपार्क गाडी कुरी रहेकी थिएँ । ठिक्क त्यही समयमा शारदा नगरपालिकाले बस सञ्चालन गरेको रहेछ । ५० रुपैयाँले मन्दिरसम्म पुगेँ, निकै खुसी लाग्यो ।’
यस्तै, बिहान श्रीनगरबाट अटोमा दुई सय रुपैयाँ तिरेर मन्दिर पुगेकी बागचौर नगरपालिका– १० की करुणा पौडेलले मन्दिरबाट ५० रुपैयाँमा नै श्रीनगरबजारसम्म आउन पाउँदा निकै राहत मिलेको बताइन् ।