माओवादी केन्द्रको जारी केन्द्रीय समितिमा समूहगत निष्कर्ष राख्ने क्रम जारी

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिमा समूहगत निष्कर्ष राख्ने क्रम सुरु भएको छ । उपत्यका विशेष प्रदेशबाट प्रस्तुतीकरण सुरु भएको छ ।  काठमाडौँको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए।

‘प्रचण्ड’ले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव उनले राखेका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावपछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष ‘प्रचण्ड’ले छोड्ने र कार्यवाहक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

तीनवटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्ने क्रम चलिरहेको छ । समूहगत छलफल सकिएपछि अध्यक्ष ‘प्रचण्ड’ले जवाफ दिने र प्रतिवेदन पारित गरेर बैठक सक्ने तयारी छ ।

सुझावित समाचार