जेन–जी आन्दोलनका क्रममा सुर्खेतका कार्यालयमा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको क्षतिको अनुमानित मूल्य निकालेर जिल्ला प्रशासनलाई बुझाइएको छ । सम्बन्धित कार्यालय प्रमुखहरूले प्रहरीको रोहवरमा क्षतिको अनुमानित मूल्य निकालेका हुन् । हालसम्म २४ वटा कार्यालयको क्षतिको मूल्यांकन गरिएको छ । संघअन्तर्गतका ६, प्रदेशका पाँच, स्थानीय तहका ११ वटा (वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र १२ वटा वडा कार्यालय) कार्यालयले क्षतिको मूल्यांकन बुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार ६ वटा संघीय कार्यालय र पाँचवटा प्रदेश कार्यालयले क्षतिको मूल्यांकन गरी प्रशासनलाई पठाइएको हो । प्रशासनले नियमित क्षतिको मूल्यांकन प्रतिवेदन संकलन गरिरहेको छ । संघअन्तर्गतका जिल्ला समन्वय समिति, सडक डिभिजन, भेरी करिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना, नापी, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र उच्च सरकारी वकिल कार्यालयले आफ्नो कार्यालयमा आन्दोलनका वेला भएको क्षतिको मूल्यांकन गरी पठाएका छन् ।
यी कार्यालयले पठाएको मूल्यांकनअनुसार जिल्ला समन्वय समितिको कार्यालयमा भवन, फर्निचर, कम्प्युटरलगायत सामान क्षति भएका छन् । यसबाट ४० लाख तीन हजारबराबरको क्षति भएको समन्वय समितिको कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालयको २० लाख चार हजारबराबरको एउटा सवारीसाधनमा क्षति पुगेको छ । भेरी करिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको टाटा सफारी गाडीमा ६० हजार रुपैयाँको क्षति भएको छ ।
नापी कार्यालय सुर्खेतमा भवन तथा कोठा, फर्निचर, कम्प्युटर र सवारीसाधनमा दुई करोड ६३ लाख ६० हजार ९९० रुपैयाँबराबरको क्षति भएको छ । यो कार्यालयका क्षति भएका सवारीसाधनको मूल्य भने खुलेको छैन । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा चार लाख १० हजार रुपैयाँबराबरको क्षति भएको छ भने उच्च सरकारी कार्यालयको क्षतिको यकिन मूल्यांकन रकम खुलेको छैन । प्रदेशतर्फका सामाजिक विकास मन्त्रालयमा तीन लाख ५९ हजार ९०० रुपैयाँबराबरको क्षति भएको छ ।