सरकारी संरचना पुनर्निर्माणमा सहयोग गर्न अपिल

बुधबार भौतिक पूर्वाधार पुनर्निर्माण कोष जारी गरेपछि अर्थमन्त्री रामेश्वर खनाल र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले संयुक्त पत्रकार सम्मेलन गर्दै कोषमा सहयोगका लागि गरे आग्रह

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

अर्थमन्त्री रामेश्वर खनाल र सहरी विकास, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सरकारी संरचना पुनर्निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न आह्वान गरेका छन् । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सहयोगका लागि अपिल गरेका हुन् ।

सरकारले बुधबार मात्रै २३ र २४ भदौको जेन–जी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माणलाई स्रोत जुटाउन ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको हो । बुधबार नै भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरिएको छ । त्यसमा अर्थमन्त्रीको अध्यक्षतामा गृहमन्त्री, सहरी विकासमन्त्री, नेपाल सरकारको मुख्यसचिव सदस्य हुने व्यवस्था छ । सोही समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै सहयोगका लागि अपिल गरेका हुन् । 

‘विश्वव्यापी समर्थनका लागि आह्वान :  नेपालको पुनस्र्थापना र पुनर्निर्माणका लागि आपत्कालीन अपिल’ भन्ने नारासहित सहयोग आह्वान गरिएको छ । इच्छुक जोसुकै व्यक्ति तथा संस्थाले कोषको खातामा रकम जम्मा गर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को ‘१९६०१००१०२०७०००४’ खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिनेछ । 

‘कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान् अभियानमा सहभागी हुन नेपाल सरकार सबैमा हार्दिक आह्वान गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ । कोषमा जम्मा हुने रकम पारदर्शी रूपमा खर्च गरिने मन्त्री घिसिङले बताए ।

‘यस विषम परिस्थितिमा समाजमा स्थायित्व कायम गर्न, शान्ति सुरक्षा कायम गरी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरूको पुनर्निर्माण, पुनस्र्थापना एवं आर्थिक पुनरुत्थानलगायतका कार्यक्रम प्राथमिकतासाथ गर्नुपरेको छ । साथै, भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनासम्बन्धी कार्यका लागि कोषसमेत स्थापना गरिएको छ । सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, गैरआवासीय नेपाली, दातृ निकाय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ–संस्था र निजी क्षेत्र सम्पूर्णमा समेत सहयोगका लागि हार्दिक अनुरोध गर्दछु,’ उनले भने, ‘राष्ट्र निर्माणको यस महान् अभियानमा सम्पूर्ण महानुभावबाट साथ र सहयोग पाउने अपेक्षासमेत गर्दछु । यो कोषमा जम्मा हुने रकम पारदर्शी रूपमा खर्च गरिनेछ ।’

बेलौरी नगरका जनप्रतिनिधि र कर्मचारीले एक दिनको पारिश्रमिक दिने
जेन–जी आन्दोलनका क्रममा सरकारी संरचना एवं सम्पत्तिमा भएको क्षति पुनर्निर्माण गर्न कञ्चनपुरकोे बेलौरी नगरपालिकाले सहयोगदेखि पारिश्रमिक रकम सहयोग गर्ने भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि कर्मचारी र जनप्रतिनिधिले एक दिनबराबरकोे पारिश्रमिक दिने निर्णय गरेको हो ।

बिहीबार कार्यपालिका बैठकले पुनर्निर्माणका लागि जनप्रतिनिधि र कर्मचारीका तर्फबाट एक दिनको पारिश्रमिक र पालिकाबाट दुई लाख रुपैयाँ दिने निर्णय भएको जनाएको छ । बेलौरी नगरका मेयर पोतीलाल चौधरीले केन्द्र सरकारले भौतिक पूर्वाधार पुनर्निर्माणका लागि कोष गठन गर्ने निर्णयअनुरूप पारिश्रमिकदेखि नगरपालिकाको आन्तरिक कोषबाट दुई लाख जम्मा गर्ने बताए ।

सुझावित समाचार