अमेरिकामा आयोजित कलिउड नाइटमा दसैँतिहारको झल्को

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

अमेरिकाको राजधानी वासिंटन डिसी मेट्रो क्षेत्रमा झन्डै एक दशकदेखि दसैँ-तिहारलक्षित गरेर भइरहेको कलिउड नाइटको सातौँ संस्करण शनिबार  हिल्टन पर्फर्मिङ आर्टस् सेन्टरको प्रेक्षालयमा आयोजना भएको छ।

नयाँ पुस्ताका नेपाली बालबालिका तथा वयस्कलाई समेत नृत्य प्रशिक्षणको लागि सुरु गरिएको केसी डान्स सेन्टरले यो कार्यक्रम आयोजना गरेको हो। सन् २०१७ देखि कोभिड महामारीका दुई वर्षबाहेक यसले हरेक वर्ष कलिउड नाइट आयोजना गर्दै आइरहेको छ।

कार्यक्रममा सहभागी नेपाली साहित्यकार गोविन्द गिरी प्रेरणाका अनुसार विशेष गरी स्थानीय कलाकार तथा प्रशिक्षणमा संलग्न भविष्यका कलाकारको बाहुल्य हुने कलिउड नाइटमा नेपालका ख्याति प्राप्त कलाकारहरूलाई पनि आयोजकले निम्त्याउने गरेको छ। अमेरिकाका विभिन्न स्थानका चर्चित कलाकारहरूलाई पनि समावेश गर्ने गरेको छ।

कार्यक्रमको सुरुवातमा दसैँ झल्काउने दुर्गाको नृत्यबाट भएको थियो भने दुर्गा माताले राक्षस बध गरेको नाटकीय प्रस्तुति आकर्षक रहेको थियो। केसी डान्स सेन्टरका नवीन केसी र लुना श्रेष्ठले नेपालमा हालै भएको जेन-जी आन्दोलनका क्रममा भएको विनाशको पुनर्निर्माणका लागि कलिउड नाइटको आम्दानीको केही अंश नेपाललाई प्रदान गर्ने उद्घोषसमेत गरे।

यस संस्थाले विगतमा पनि नेपालमा मानवीय कार्यका लागि आफ्नो आयको केही अंश प्रदान गर्दै आएको छ। विगतमा गामबेसीको चेपाङ संरक्षण केन्द्र चितवन, पवित्र समाज सेवा काठमाडौं, एनइसिसी मेरिल्यान्ड, एनएचिची भर्जिनियालगायतलाई यस संस्थाले सहयोग गरेको छ।

यस वर्षको कुल १४ प्रस्तुतिमा ११ प्रस्तुति प्रशिक्षणमा रहेका कलाकार, तिनका अभिभावकहरू तथा डिसी मेट्रो क्षेत्रका सामाजिक अभियन्ताहरू भर्जिनिया राज्यका एनआरएन अध्यक्ष अभिजित राई तथा अर्का अभियन्ता प्रेम पौड्यालको रहेको थियो। कार्यक्रमको अन्तिम प्रस्तुति तिहारको देउसी भैलोमा सम्पूर्ण कलाकारहरूको सहभागिता रहेको थियो। नाटकीय रूप दिइएको सो प्रस्तुतिले बिट मार्दा दर्शकहरूले खुसी र सन्तोष व्यक्त गरेका थिए।

सुझावित समाचार