लक्ष्मी सनराइजको अगुवाइमा दुधकोशी–२ मा जुट्यो लगानी

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

लक्ष्मी सनराइज बैंकको अगुवाइमा ७० मेगावाट क्षमताको अर्धजलाशययुक्त दुधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजना निर्माणका लागि साढे १० अर्ब लगानी जुटेको छ । लक्ष्मी सनराइजको अगुवाइमा अन्य बैंक तथा वित्तीय संस्था र दुधकोशी हाइड्रोपावर नेपाल प्रालिबिच लगानी सम्झौता भएको हो ।

आयोजनाका लागि साढे १० अर्ब लगानी जुटेको हो । यसको कुल लागत भने १५ अर्ब अनुमान गरिएको छ । सहवित्तीयकरणमा एभरेष्ट बैंक सहअगुवा र सानिमा बैंक सदस्यका रूपमा रहेका छन् । सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापकबाट लगानी हुनेछ । 

आयोजनाले ०७७ असोजमा विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमतिका साथै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवर्द्धकका रूपमा आयु मलुन हाइड्रोपावर, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् । आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात् वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जडान हुने बताइएको छ । 

सुझावित समाचार