सरकारले ल्याएको राहत प्याकेजको नाडाद्वारा स्वागत

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सरकारले आन्दोलनबाट प्रभावित निजी क्षेत्रका लागि ल्याएको राहत प्याकेजको स्वागत गरेको छ । सरकारले हालै जेन–जी आन्दोलनका क्रममा उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानका लागि सरकारले राहत प्याकेज घोषणा गरेको थियो । सोही प्याकेजको नाडाले स्वागत गरेको हो ।

सरकारले आगजनी वा तोडफोडबाट क्षति भएका मालसामान पुनस्र्थापनाका लागि आयात गर्दा भन्सार महसुल तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने घोषणा छ । त्यस्तै, उपकरण आदिमा भएको क्षतिको ५० प्रतिशत रकम अग्रिम रूपमा छिट्टै भुक्तानी गनुपर्ने, पुनर्बिमा प्रक्रियामा ढिलाइ भएमा बिमा कम्पनीले ५० प्रतिशतसम्म अग्रिम भुक्तानी उपलब्ध गराउने प्रतिबद्धता पनि सरकारले गरेको छ । 

त्यसैगरी, आन्दोलनमा क्षति भएका व्यावसायिक सवारी वा ढुवानीसाधन नयाँ खरिद गर्दा बैंक कर्जामा लोन टु–भ्यालु न्यूनतम ८० प्रतिशत हुने, राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गरेको रकमलाई करकटौतीमा गणना गर्ने, बिमा नभएका मौज्दातमा मूल्यांकनका आधारमा लागत खर्च कट्टी तथा करकट्टी गर्न सक्ने व्यवस्था पनि सरकारले गरेको छ ।

आन्दोलन प्रभावित ऋणी उद्योग–व्यवसायका लागि साँवा तथा ब्याज भुक्तानी अवधि थप गर्नुका साथै प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउनेलगायतका सुविधासमेत घोषणा गरेको छ । यस किसिमका निर्णायक कदमले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको नाडाको भनाइ छ ।

सुझावित समाचार