केलियन एम्बाप्पेले गरेको दुई गोलको सहयोगमा मंगलबार राति रियल म्याड्रिडले स्पेनिस लिगमा लेभान्टेमाथि ४–१ को सानदार जित निकालेको छ । ला लिगामा म्याड्रिडको यो लगातार छैटौँ जित हो । म्याड्रिडले अहिलेसम्म शतप्रतिशत जित निकालेको छ । म्याड्रिड १८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । साबिक विजेता बार्सिलोनाविरुद्ध म्याड्रिडले ५ अंकको अग्रता लिएको छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।
म्याड्रिडको जितमा एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गरेका हुन् । खेलको २८औँ मिनेटमा भिनियस जुनियरले म्याड्रिडलाई १–० को अग्रता दिलाएका थिए । खेलको ३८औँ मिनेटमा फ्रान्को मास्टानले २–० का लागि गोल गरे । खेलको ५४औँ मिनेटमा इयोङले लाभान्टेलाई २–१ को गोलअन्तरमा झारे । त्यसपछि एम्बाप्पेले दुई मिनेटभित्र दुई गोल गर्दा म्याड्रिड ४–१ ले अघि रह्यो । उनले चालू सिजनमा सात गोल गरेका छन् ।
खेलको ६४औँ मिनेटमा उनले पहिलो गोल गरे । त्यसपछि खेलको ६६औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा म्याड्रिड ४–१ ले विजयी भयो । म्याड्रिडका प्रशिक्षक जाबी अलोन्सोे ला लिगामा सुरुवाती ६ खेल जित्ने दोस्रो प्रशिक्षक बनेका छन् । यसअघि भान्डेरेलइ लक्जेम्बर्गोले सन् २००५ मा लगातार सात खेलमा जित दिलाएका थिए । अब शनिबार म्याड्रिडले एट्लेटिकोसँग खेल्नेछ । अलोन्सोलाई त्यो कीर्तिमान बराबरी गर्ने अवसर हुनेछ ।
‘हामीले सम्पूर्ण खेल खेलेका छौँ,’ म्याड्रिडका प्रशिक्षक अलोन्सोले भने, ‘यो जितलाई निरन्तरता दिनुपर्छ । यो मात्र सुरुवात हो । हामी अझै राम्रोसँग प्रतिस्पर्धा गर्न चाहन्छौँ ।’ लेभान्टे यसै सिजन शीर्ष डिभिजनमा उक्लेको क्लब हो । लेभान्टेले सुरुका चार खेलमा जित निकाल्न सकेको थिएन । अघिल्लो चरणमा उसले गिरोनामाथि ४–० को जित दर्ता गरेको थियो ।
स्पेनिस ला लिगामा मंगलबार राति भएको अर्को खेलमा भिल्लारियलले सेभिल्लालाई २–१ ले हरायो । इस्पानुयल र भ्यालेन्सियाबिच २–२ को बराबरी भयो ।