भारत एसिया कपको फाइनलमा

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

भारतले एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा बुधबार सुपर फोरमा बंगलादेशमाथि ४१ रनको जित निकालेको छ । जितसँगै भारतले सुपर फोरमा दुई खेलबाट ४ अंक जोडेर फाइनलमा स्थान पक्का गरेको छ । भारतले अब श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशमाथि भारतको जितले श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।

अब सुपर फोरमा बंगलादेश र पाकिस्तानबिचको विजेताले फाइनलमा स्थान बनाउनेछ । यसै विजेता टोलीविरुद्ध भारत उपाधिका लागि भिड्नेछ । दुबईको डिआइसिएस रंगशालामा पहिलो ब्याटिङ गरेको भारतले २० ओेभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा बंगलादेश १९.३ ओभरमा १२७ रनमा समेटिँदा भारत ४१ रनले विजयी भएको हो । पाकिस्तान र बंगलादेशले समान दुई खेलबाट २ अंक हात पारेका छन् । श्रीलंका अंकविहीन छ । 

यसअघि पहिलो ब्याटिङ गरेको भारतले उत्कृष्ट सुरुवात गरेको थियो । अभिषेक शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि ६.२ ओभरमा ७७ रनको साझेदारी गरेका थिए । गिलले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरी २९ रनको योगदान दिए । कप्तान सूर्यकुमार यादवले ५ रन मात्र बटुले । इनिङ्सको ११.१ ओभरमा अभिषेकले आफ्नो विकेट गुमाएपछि भारतको रनरेट कमजोर भयो । 

रनआउटको सिकार हुनुअघि अभिषेकले ३७ बलमा ६ चौका र पाँच चौका प्रहार गरी सर्वाधिक ७५ रनको योगदान दिए । हार्दिक पान्ड्याले अक्षर पटेलसँग छैटौँ विकेटका लागि ३९ रनको साझेदारी गरे । उनीहरूले भारतलाई १२९–५ बाट १६८–६ को स्थितिमा राखे । 

पान्ड्याले २९ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ३८ रन बटुले । अक्षरले १५ बलमा १० रनको योगदान दिए । बंगलादेशको बलिङमा रिसद हुसेनले २७ रन खर्चेर दुई विकेट हात पारे । तान्जिम हसन, नसुम अहमेद तथा मोहमद सैफुद्दिनले समान एक विकेट हात पारे । 

भारतको कसिलो बलिङ
बंगलादेशले लक्ष्य छ्याएको इनिङ्समा भारतको बलियो बलिङ आक्रमण झेल्न सकेन । भारतका लागि कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । यसैगरी वरुणले २९ रन खर्चंदै बंगलादेशका दुई विकेट हात पारे । बंगलादेशको फितलो ब्याटिङमा ओपनर हसनले मात्र भारतीय बलरको डटेर सामना गरेका थिए । उनले ५१ बलमा तीन चौका र पाँच छक्का प्रहार गरी सर्वाधिक ६९ रनको योगदान दिए । उनी इनिङ्सको १७.२ ओभरमा आउट भए ।

सुझावित समाचार