आइसिसीले गर्‍यो अमेरिकालाई निलम्बन

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार अमेरिकाको राष्ट्रिय क्रिकेट संघलाई निलम्बन गरेको छ । अमेरिकाले बारम्बार विधान र नियम उल्लंघन गरेका कारण निलम्बन गरिएको आइसिसीले जनाएको छ । निलम्बनमा परे पनि अमेरिकाले आगामी फेब्रुअरीमा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप र लस एन्जलस २०२८ ओलम्पिक प्रतियोगितामा सहभागिता जनाउनेछ ।

आइसिसीले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीले दुवै महत्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउन पाउने बताएको छ । आइसिसीले गत जुलाईमा आफ्नो वार्षिक साधारणसभामा अमेरिकाको क्रिकेट संघलाई निष्पक्ष चुनाव र प्रशासनिक सुधार गर्न भनेको थियो । तर, कुनै पनि काम नगरेपछि संघ निलम्बनमा परेको आइसिसीको भनाइ छ । आइसिसीले अमेरिकी राष्ट्रिय क्रिकेट टोलीको सबै व्यवस्थापन र प्रशासन आफ्नो हातमा लिएको छ । ‘बैठकमा आइसिसी बोर्डले गरेको निर्णयमा अमेरिकाले आइसिसीको विधानअन्तर्गत आइसिसी सदस्यका रूपमा आफ्नो दायित्वहरूको बारम्बार र निरन्तर उल्लंघन गरेको आधारमा लिएको हो,’ आइसिसीले जनाएको छ । 

आइसिसीले अमेरिकाको क्रिकेट संघले विश्व क्रिकेटकै प्रतिष्ठामाथि आँच आउने काम गरेको दाबी गरेको छ । ‘पछिल्लो समयमा अमेरिकाको क्रिकेट संघ प्रशासनिक संरचना लागू गर्न असफल भयो । महत्वपूर्ण प्रतियोगिता ओलम्पिक र पारा ओलम्पिकमा समेत संघले खासै काम गरेको देखिँदैन । जसकारण विश्वकै क्रिकेटको प्रतिष्ठामा क्षति पुर्याउने महत्वपूर्ण कार्य गरिएको छ,’ आइसिसीको विज्ञप्तिमा भनिएको छ । 

अमेरिकाले आफ्नो निलम्बन हटाउन आइसिसी व्यवस्थापनसँगको समन्वयनमा प्रक्रियाको पालना गर्नुपर्नेछ । जसमा क्रिकेटको प्रशासनिक संरचना, कार्यप्रणाली र क्रिकेट इकोसिस्टममा समग्र स्थितिमा प्रदर्शनयोग्य र विशिष्ट परिवर्तन समावेश छन् । 

See More On

सुझावित समाचार