चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले सडक अवरुद्ध हुँदा संघीय राजधानी जोड्ने मकवानपुरका विभिन्न वैकल्पिक मार्गहरूमा सवारीसाधनको चाप बढेको छ । संघीय राजधानी काठमाडौं जोड्ने मुख्यमार्ग मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा बारम्बार पहिरो खस्दा यातायातका साधन अन्य मार्गतर्फ मोडिएसँगै त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–कुलेखानी–फाखेल सडक र सिस्नेरी सडकमा सवारीको चाप अस्वाभाविक रूपमा बढेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार यी मार्गहरूमा नियमित सञ्चालन हुनेभन्दा दोब्बर तेब्बर संख्याले सवारीसाधनको चाप बढेको छ । उनले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा तराईका जिल्लासहित पूर्व र पश्चिमबाट काठमाडौं ओहोरदोहोर गर्ने सार्वजनिक तथा मालवाहक सवारीसाधन अहिले मकवानपुर हुँदै काठमाडौ जोड्ने मार्गमा चल्न थालेका छन् ।
चाडपर्व नजिकिएको र काठमाडौंबाट बाहिरिने यात्रुबाहक साना तथा ठूला गाडीका कारण लामो जाम हुने समस्या देखिन थालेको उनको भनाइ छ ।
मुग्लिन–नारायणगढ सडक खण्डमा समस्या आएपछि सवारीसाधनहरू तनहुँको खैरेनीटार हुँदै डेढगाउँको बाटो वा त्रिभुवन राजपथ प्रयोग गर्न थालेका छन् । जसका कारण त्रिभुवन राजपथमा अहिले गाडीको चाप बढेको छ । यस्तै, तराईका जिल्ला र पूर्वबाट आउने साना तथा यात्रुवाहक सवारी साधनका कारण कान्ति लोकपथ, हेटौँडा–कुलेखानी–फाखेल सडक र सिस्नेरी सडकमा सवारीको चाप बढेको छ ।
कान्तिलोकपथमा सवारी आवागमनको लागि दुईवटा प्रस्थान विन्दु, समयावधि पनि लम्ब्याइयो
चितवनको मुग्लिन–नारायणगढ सडकखण्मा पहिरोले यातायात अवरुद्ध भए पनि चाडपर्वलाई लक्षित गरी हेटौँडालाई काठमाडौसँग जोड्न कान्तिलोकपथ हुँदै चल्ने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनका लागि दुईवटा प्रस्थान विन्दु तोकिएको छ । यस्तै ,यस मार्ग भएर चल्ने सवारीसाधनको लागि प्रवेश समयावधि पनि लम्ब्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार एउटा सूचना जारी गर्दै ७ असोज मंगलबारदेखि कोजागत पूर्णिमा अर्थात् २१ असोज मंगलबारसम्म सवारी आवागमनमा नयाँ व्यवस्था लागू गरेको छ । निर्धारित मापदण्डअनुसार अधिकतम ३० टन भारवहन क्षमता र १० चक्कासम्मका सवारीसाधनले मात्रै कान्तिलोकपथ प्रयोग गर्न पाउने भएका छन् । यी सवारीसाधनले तोकिएको प्रवेश वा प्रस्थान विन्दु बेलुका ९ बजेसम्म अनिवार्य रूपमा पुगिसक्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ ।
यस अवधिमा कान्तिलोकपथ प्रयोग गर्ने सवारी साधनका लागि दुईवटा प्रवेश विन्दु तोकिएका छन् । मकवानपुरतर्फ बागमती गाउँपालिका–२ बगुवा र ललितपुरतर्फ गोदावरी नगरपालिका–६ टीकाभैरव प्रवेश विन्दु कायम गरिएको हो । प्रशासनका अनुसार चाडबाडमा देखिने भिडभाडलाई व्यवस्थित गर्न र दुर्घटनाको सम्भावना न्यूनीकरण गर्न यो व्यवस्था लागू गरिएको हो ।
