चार्ली कर्कको हत्यापछि अमेरिकामा म्याकार्थीवादको नयाँ युग

सन् १९५० को दशकमा अमेरिकामा राजनीतिक प्रतिद्वन्द्वीहरूलाई देशद्रोही देखाउन आधारहीन आरोप लगाउने अभ्यासले व्यापकता पाएको थियो, जसलाई ‘म्याकार्थीवाद’को नामले चिनिन्छ

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाको डिजिटल संसारमा अहिले व्यापक धरपकट भइरहेको छ । र, यो मुख्यतः उग्र दक्षिणपन्थी अभियन्ता चार्ली कर्कको हत्यापछि उनका पुराना आलोचकप्रति लक्षित देखिन्छ । निश्चित विचारधाराका आलोचकहरूको आवाज दबाउन केन्द्रित यस अभियानमा अमेरिकी इतिहासको सबैभन्दा अँध्यारो अध्यायमध्ये एक प्रतिध्वनित भइरहेको छ । कर्कको सार्वजनिक रूपमा आलोचना गर्ने वा उनको मृत्युप्रति असंवेदनशील टिप्पणी गर्ने व्यक्तिहरूले अहिले धम्की पाइरहेका छन् र कामबाट बर्खास्त भइरहेका छन् । त्यस्तै, तिनको व्यक्तिगत सूचना इन्टरनेटमा भन्डाफोर भइरहेको छ । 

यस अभियानअन्तर्गत कयौँ शिक्षक र प्राध्यापक बर्खास्त भइसके । बर्खास्त नभएकामाथि अनुशासनको कारबाही चलिरहेको छ । कर्क नश्लवादी, महिलाविरोधी र नवनाजी रहेको भनेर पोस्ट गरेकाहरूसमेत कारबाहीमा परेका छन् । कर्कको हत्याबारे टिप्पणी गर्ने पत्रकारविरुद्धसमेत कदम चालिएको छ । यस अभियानको पछिल्लो सिकार बनेका छन्, रात्रिकालीन टेलिभिजन टक सो ‘जिम्मी किमेल लाइभ’का सञ्चालक जिमी किमेल । 

‘एक्सपोज चार्लिज मर्डर्स (चार्लीका हत्याराहरूको पर्दाफास गरौँ)’ एउटा वेबसाइट नै खोलेर कर्कबारे आलोचनात्मक टिप्पणी गरेका व्यक्तिहरूको नाम, ठेगाना र काम गर्ने स्थानसम्बन्धी सूचना पोस्ट भइरहेको थियो । व्यापक आलोचना भएपछि मात्र ती सूचना हटाइए । यस्तो कार्य प्रोत्साहित गर्नेमा स्वयं अमेरिकाका उपराष्ट्रपति जेडी भान्ससमेत छन् । उनले समर्थकलाई ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक गर्नुस्,  तिनका रोजगारदाताको पनि पर्दाफास गर्नुस्,’ भनेर आह्वान गरेका थिए । यो उग्र दक्षिणपन्थी जमातले चलाइरहेको ‘क्यान्सेल कल्चर’ हो, जुन अमेरिकाले सन् १९५० को दशकको म्याकार्थी युगयता यो स्तरमा देखेको थिएन । 

जब छिमेकी नै एक–अर्कासँग डराउनुपर्ने अवस्था आउँछ, संवाद बन्द हुन्छ, तब द्वन्द्व तथा हिंसाको सम्भावना बढ्छ । अमेरिकाको वर्तमान वातावरणबारे हुने बहसमा जर्मनीमा फासीवादको उदय र अर्को गृहयुद्धको सम्भावनामाथि खुलेर छलफल हुन थालेको छ ।

‘म्याकार्थीवाद’को जन्म
अहिलेको अवस्था बुझ्न अमेरिकाको सामूहिक स्मृतिमा धमिलिँदै गएको ‘म्याकार्थी युग’ कसरी सुरु भयो र यसले अमेरिकामा कस्तो प्रभाव पार्यो भनेर बुझ्नु महत्वपूर्ण हुन्छ । आखिरमा, दार्शनिक जर्ज सान्तायानाको एउटा भनाइ छ– ‘जसले विगत सम्झन सक्दैनन्, उनीहरू यसलाई दोहोर्याउन विवश हुन्छन् ।’ सन् १९५० को दशकमा अमेरिकामा राजनीतिक प्रतिद्वन्द्वीहरूलाई देशद्रोही देखाउन आधारहीन आरोप लगाउने अभ्यासले व्यापकता पायो । ‘म्याकार्थीवाद’ भनेर चिनिने यो अभ्यासअन्तर्गत विरोधीहरूविरुद्ध ठुलो दुष्प्रचार गरिन्थ्यो र सार्वजनिक अपमान गरिन्थ्यो । रिपब्लिकन सिनेटर जोसेफ म्याकार्थीले अमेरिकी संस्थामा कम्युनिस्टहरू र विध्वंसकहरू निकाल्न व्यापक अभियान चलाएका थिए । उनैको नामबाट अभियानलाई म्याकार्थीवाद भन्न थालियो । 

अभियानका क्रममा सन् १९४० को दशकको अन्त्यदेखि १९५० को दशकको सुरुवातसम्म सार्वजनिक र निजी दुवै क्षेत्रका धेरै मानिस प्रताडित गरिए । मुद्दा चलाइयो । तल्लो सदनको ‘अन–अमेरिकिन एक्टिभिटी कमिटी’ र सिनेटको ‘पर्मानेन्ट सब–कमिटी अन इन्भेस्टिगेसन’ अगाडि धेरैलाई सवाल–जवाफमा उभ्याइयो । यस अवधिमा लाखौँ संघीय कर्मचारीले देश र शासनप्रति ‘बफादार’ रहेको भन्ने अनुसन्धान फारम भर्नुपरेको थियो । सयौँ कर्मचारी या त बर्खास्त गरिए वा काममा लिनुअघि नै रोकिए । सयौँ हलिउड सेलिब्रिटीको नाम कालोसूचीमा राखिएको थियो । म्याकार्थीवादी अभियानकै क्रममा सरकारमा काम गरिरहेका यौनिक अल्पसंख्यक समुदायलाई समानान्तर रूपमा लक्षित गर्ने काम भएको थियो, जसलाई ‘ल्याभेन्डर स्केयर’ नामले चिनिन्छ । 

आज इन्टरनेटमा नाम खुलाउने अभ्यास (अंग्रेजीमा ‘डक्सिङ’) जस्तै, सरकारी सुनुवाइमा बोलाइएकाहरूलाई कम्युनिस्टप्रति सहानुभूति राख्नेहरूको नाम खुलाउन भनिएको थियो । अनुसन्धानकर्ताले मिडियालाई सम्भावित साक्षीको सूची दिने गर्थे । त्यति वेला ठुला औद्योगिक प्रतिष्ठानले संविधानको ‘पाँचौँ संशोधन’ औँल्याउदै सुनुवाइमा बस्न अस्वीकार गर्ने कर्मचारीलाई कामबाट बर्खास्त गर्ने धम्की दिएका थिए । 

म्याकार्थीवादको सबैभन्दा ठुलो असर सार्वजनिक बहसमा परेको थियो । त्यसले अमेरिकी राजनीतिमा यति गहिरो अविश्वास विकास भयो कि मानिसहरू अरूले असहमति जनाउन सक्ने फरक विचार व्यक्त गर्न डराउन थाले । सन् २००० को दशकको सुरुमा जब संसदीय सुनुवाइका पुराना रेकर्ड सार्वजनिक गरिए । त्यतिवेला ‘पर्मानेन्ट सब–कमिटी अन इन्भेस्टिगेसन’ले तत्कालीन सुनुवाइ ‘अमेरिकाको राष्ट्रिय विगतको एक हिस्सा हुन्, जुन हामी न त बिर्सन सक्छौँ, न त पुनः कार्यान्वयन हुन अनुमति दिन सक्छौँ’ भनेको थियो । 

ट्रम्पको नेतृत्वमा अर्को राजनीतिक प्रतिशोधको शृंखला
आज फेरि ट्रम्प प्रशासनको प्रेरणामा दक्षिणपन्थीहरूले म्याकार्थीवादको झल्को दिने अभियान चलाएका छन् । ‘शत्रु हामीमाझ नै छन्’ भन्ने डर जगाइँदै छ । सरकारी काममा सरिक आलोचकको नाम राखी कालोसूची सार्वजनिक गरेर म्याकार्थीकालीन अभ्यास दोहोर्याइँदै छ । सामाजिक सञ्जालको युगमा यस्तो सूचीको विस्तार विगतको भन्दा निकै तीव्र हुन सम्भव बनाएको छ । व्यापक अमेरिकी यसको चपेटामा परेका छन् ।

कर्कको हत्या हुनुअघि नै म्याकार्थीवादी पुनरुत्थानको संकेत देखिन थालेका थिए । ट्रम्पले अमेरिकी प्रशासनमा विविधता, समानता र समावेशिताका लागि लागू ‘डाइभर्सिटी, इक्विट एन्ड इन्क्लुसिभ (डिइआई)’ कार्यक्रम खारेज गर्ने आदेश दिएपछि नागरिक संस्थाहरू, विश्वविद्यालयहरू, निगमहरू र कानुन फर्महरूलाई पनि उस्तै कदम उठाउन दबाब दिइयो । ट्रम्पको आदेश नपछ्याउने निकायविरुद्ध अनुसन्धान वा संघीय कोष फ्रिजको धम्की आउन थाल्यो । गत हप्ता मात्र बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालयले दबाबबिच यहुदीविरोधी गतिविधिमा संलग्न भएको आरोप लागेका कर्मचारीको नाम प्रशासनलाई हस्तान्तरण गरेको स्विकारेको छ ।

सुरुमा ट्रम्प प्रशासनबाट सुरु भएको म्याकार्थीवाद विभिन्न दक्षिणपन्थी समूहले अँगाल्न थाले । ‘क्यानरी मिसन’ भनिने समूहले प्यालेस्टिनी अधिकारको वकालत गर्ने ग्रिन–कार्डधारीको नाम सार्वजनिक गर्न थाल्यो । कर्कको आलोचना गर्ने व्यक्तिको पर्दाफास गर्न सरिक समूहले आफ्नो कार्यलाई ‘अमेरिकाविरोधी’ कामबाट देशलाई बचाउने प्रयासका रूपमा प्रस्तुत गरेका छन् । यस्तो भाष्यले पूरै समाजलाई ‘असल मानिस’ र भ्रष्ट ‘वामपन्थी अभिजात वर्ग’ गरी दुई समूहमा ध्रुवीकरण गरेको छ । 

यसअघि जुन महिनामा डेमोक्य्राटिक सांसद मेलिसा होर्टम्यानको राजनीतिक हत्या भएको थियो । त्यस हत्याप्रति दक्षिणपन्थीले उस्तै प्रतिक्रिया नजनाउनुले तिनको दोहोरो मापदण्ड प्रकट हुन्छ । त्यस्तै, दोहोरो मापदण्ड कर्कको घृणित दाबीहरूको प्रतिरक्षामा देखिएको छ । उदाहरणका लागि, कर्कले एकपटक पुलिसद्वारा मारिएका अश्वेत व्यक्ति जर्ज फ्लोयडलाई ‘बेकामे’ भनेका थिए, जसलाई उनको समर्थक प्रतिरक्षा गरिरहेका छन् । 

अहिलेको वातावरणमा, सहानुभूति कुनै वेला कर्कले भनेजस्तो ‘बनिबनाउ कृत्रिम र नयाँ युगको शब्द’ होइन । तर, ट्रम्पको युद्धमा यसको प्रयोग एकदम छानी–छानी प्रयोग भइरहेको छ । यसले खतरा थप बढाउँछ । जब छिमेकी एक–अर्कासँग डराउनुपर्ने अवस्था आउँछ, संवाद बन्द हुन्छ, तब द्वन्द्व तथा हिंसाको सम्भावना बढ्छ । अमेरिकाको वर्तमान वातावरणबारे कुरा गर्दा जर्मनीमा फासीवादको उदय र अर्को गृहयुद्धको सम्भावनामाथि खुलेर छलफल हुन थालेको छ । 

शालीनताको वातावरण ?
म्याकार्थीवाद र ट्रम्पवादबिचका समानता स्पष्ट र डरलाग्दा देखिन्छन् । दुवै युगमा असहमतिलाई देशद्रोहीका रूपमा व्याख्या गरिन्थ्यो । यो अझै कति अगाडि जान सक्छ, म्याकार्थी युगजस्तै अहिलको अवस्थामा पनि आंशिक रूपमा ट्रम्पको रणनीतिहरूप्रति सार्वजनिक प्रतिक्रियामा निर्भर गर्छ । सन् १९५४ सम्म पुग्दा म्याकार्थीले सेनामाथि समेत साम्यवादप्रति नरम भएको आरोप लगाउन थाले । त्यसपछि म्याकार्थीमाथि आमभरोसा घट्न थाल्यो र उनको प्रभाव पनि सँगै घट्न थाल्यो । एक बिन्दुमा सेनाका वकिलले म्याकर्थीविरुद्ध भनेको यो लाइन निकै चर्चित बन्न पुगेको थियो :

आजका दिनसम्म, सिनेटर, मैले तपाईंको क्रूरता वा तपाईंको लापरबाहीबारे ख्याल गरेको रहनेछु..., के तपाईंमा शालीनता भन्ने कुनै भावना छैन ?म्याकार्थीवादको नयाँ संस्करणविरुद्ध एकीकृत, सामूहिक सामाजिक दबाब दिँदै लोकतान्त्रिक मूल्यमा फर्किएन भने अमेरिकी सार्वजनिक जीवन थप कठिन हुन सक्छ । असहमतिले यसलाई सुरक्षा प्रदान गर्छ । यी सिद्धान्तलाई त्याग्नु भनेको अधिनायकवादतर्फको बाटो हिँड्नु हो ।
द कन्भर्सेसनबाट स्यानन सनसाइन कोस्ट विश्वविद्यालयका राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका वरिष्ठ अध्यापक हुन् । फ्रान्क क्विन्सल्यान्ड विश्वविद्यालयका राजनीति विज्ञानका वरिष्ठ अध्यापक हुन् । गेल सनसाइन कोस्ट विश्वविद्यालयका सह–प्राध्यापक हुन् । 
 

सुझावित समाचार