राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापतिहरूले सभापतिमा रवि लामिछानेको विकल्प नभएको बताएका छन् । मंगलबारदेखि सुरु केन्द्रीय समिति बैठकमा पाँच प्रदेशका सभापतिले लामिछानेकै नेतृत्वमा रास्वपा आगामी निर्वाचनमा होमिनुपर्ने धारणा राखेका हुन् । उनीहरूले अघिल्लो सरकारले सभापति लामिछानेमाथि प्रतिशोध साधेर झुटा मुद्दा लगाएको भन्दै छिटो किनारा गरिदिन नयाँ सरकारसँग माग पनि गरेका छन् ।
प्रवक्ता मनीष झाका अनुसार मंगलबार बिहान ८ बजेदेखि सुरु केन्द्रीय समितिको बैठक ११ घण्टासम्म चलेको थियो । बैठक बुधबार पनि बस्नेछ । बैठकमा समसामयिक अवस्थाबारे छलफल भएको थियो । प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत गरिएको थियो । परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । बैठकमा पार्टी संगठन एवं विभाग, आगामी निर्वाचन, पार्टीको महाधिवेशनबारे छलफल भई बुधबार निर्णय लिइने प्रवक्ता झाले बताए ।
बागमती प्रदेश सभापति डा. अच्युतम लामिछानेले पार्टीको नेतृत्वको विकल्पमा कल्पनासमेत गर्न नसकिने बताए । ‘सभापतिको नेतृत्वबारे वैकल्पिक सोच कल्पना गर्न सक्ने विषय होइन,’ उनले भने । मधेश प्रदेश इन्चार्ज इन्जिनियर तपेश्वर यादवले सभापति लामिछानेको विकल्प कोही हुन नसक्ने बताए । कोशी प्रदेश सभापति सरिन तामाङले जेन–जी पुस्ताले उठाएको भ्रष्टाचारको मुद्दा लामिछाने सञ्चार क्षेत्र हुँदै राजनीतिमा आएर निरन्तर उठाउँदै लड्दै आएको बताए । लुम्बिनी प्रदेश सभापति देवराज पाठकले रास्वपा उन्नत लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको, पार्टी सभापतिबारे छलफल पनि हुने गरेको भन्दै तर विकल्पबारे नसोचेको बताए । सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले पनि सभापति लामिछानेको विकल्प नभएको बताए ।
पत्रकार सम्मेलनमा सहप्रवक्ता प्रतिभा रावलले सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको विषयमा उठेका प्रश्नमा प्रस्टीकरण दिइन् । उनले कारागार प्रशासनले सुरक्षा दिन सक्दैनौँ भनेर पटक–पटक भनेपछि सभापति लामिछाने कागज गरेर छुटेको र स्थिति सामान्य भएपछि फर्किएको बताइन् ।
‘सुरक्षा चुनौती छ भनेर कार्यवाहक सभापति र पार्टीका नेताहरूलाई फोन आयो । सुरक्षा दिन सक्दैनौँ लिएर जानुस् भनेपछि पत्नी निकिता पौडेल जानुभयो । पार्टीका नेताहरू हरि ढकालसहित जानुभयो । लिएर आउनुभयो,’ उनले भनिन्, ‘पत्रबारे पनि प्रश्न उठ्यो । त्यसको जवाफदेहिता नक्खु कारागारको हुन्छ । प्रश्न भए सम्बन्धित निकायले छानबिन गर्ला । के मिस्टेक भयो, कसरी इस्यु भयो भने उहाँहरूले छान बिन गर्न सक्नुहुन्छ । यो विषयमा अहिलेको जाँचबुझ आयोगले पनि गर्ला ।’