साफ यू–१७ च्याम्पियनसिप : फाइनल पुग्न नेपालले ६ पटकको च्याम्पियन भारतलाई हराउनैपर्ने दबाब

नेपाल पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा हुँदा भारतले ६ पटक नै जितिसकेको छ उपाधि

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

नेपालले साफ यू–१७ च्याम्पियनसिपको सेािमफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्नेभएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले तीन फरक उमेर समूहका खेलाडीबिच आयोजना गर्दै आएको प्रतियोगितामा भारत सर्वाधिक ६ पटकको च्याम्पियन हो । नेपाल भने फाइनलमा चारपटक चुकेको छ । नेपाल सबै फाइनलमा भारतसँग पराजित हुँदा उपाधिबाट टाढा हुँदै आएको छ । अब, नेपालले अर्काेपटक उपाधिनजिक पुग्न बलियो प्रतिस्पर्धी भारतसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

समूह ‘बी’को निर्णायक तथा अन्तिम खेलमा पाकिस्तानलाई ३–२ ले हराउँदै भारत समूह विजेता बनेको छ । यो खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । पाकिस्तान उपविजेता भएको छ । यता, समूह ‘ए’मा नेपाल उपविजेता बनेको थियो । दुवै खेल जितेको बंगलादेश यो समूहबाट विजेता बन्यो । अब, सेमिफाइनल बिहीबार श्रीलंकाको कोलम्बोमै हुनेछ । नेपालले भारतसँग खेल्दा एकपटकको च्याम्पियन पाकिस्तानले दुईपटक उपाधि जितिसकेको बंगलादेशसँग खेल्नेछ । 

पहिलोपटक च्याम्पियन बन्ने अवसर
साफ यू–१७ च्याम्पियनसिपमा पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित नेपाली टिम श्रीलंकाको राजधानी कोलम्बो पुगेको हो । सन् २०११ बाट सुरु भएको प्रतियोगिता नौपटक आयोजना भइसक्दा नेपाल सर्वाधिक चारपटक उपविजेता भएको छ । ६ पटक उपाधि जितिसकेको भारतसँग मात्रै नेपाल फाइनलमा चारपटक पराजित भएको हो । नेपाल सन् २०१३, सन् २०१७, सन् २०१९ र सन् २०२२ मा फाइनलमा पुगेको थियो ।

नेपाल दसौँपटक प्रतियोगितामा सहभागी हुँदा पनि पहिलोपटक उपाधि जित्ने योजनामा छ । तर, नेपालको चुनौतीमा बलियो भारत प्रतिद्वन्द्वी भएको छ । प्रशिक्षक सञ्जित श्रेष्ठ यो खेल जित्ने बताउँछन् । उनी खेलाडीलाई मानसिक रूपमा तयार पारिरहेका छन् । कोलम्बो पुगेको टिममा यू–१६ टिमबाट खेलिसकेका गोलकिपर पेम्बानुर्बु भोटे र गोलकिपर विशेष बानियाँ डिफेन्डर प्रशान्त मोक्तान र भुवन कामी तथा मिडफिल्डर राम थामी र सुजन स्याङ्तान हुँदा खेलाडीको मनोबल उच्च छ । स्थगित यू–१६ लिगमा उत्कृष्ट प्रदर्शन गरेका समीर कुमारको लयले टोलीलाई हौसला मिलेको छ । 

बंगलादेश समूह विजेता
नेपाल रहेको समूह ‘ए’मा बंगलादेश विजेता बनेको छ । नेपाल भने भाग्यमानी रह्यो । श्रीलंकालाई पहिलो खेलमा २–० ले हराएपछि नेपालको भाग्य खुलेको हो । यो खेलमा समीर कुमारले दुई गोल गरेका हुन् । दोस्रो खेलमा नेपाल बंगलादेशसँग अप्रत्याशित रूपमा ४–० ले पराजित भएको हो । यो हारपछि नेपालको सेमिफाइनल सम्भावना नै संकटमा पर्‍यो । तर, निर्णायक खेलमा बंगलादेशले श्रीलंकालाई ४–० ले हराउँदै समूह विजेता बन्यो । योसँगै नेपालको सेमिफाइनल ढोका खोलेको थियो । भाग्यमानी भएर अन्तिम चारमा प्रवेश गरेको नेपालले अब भारतको कडा चुनौती सामना गर्नुपर्नेछ ।

 निर्णायक खेलमा भारतले पाकिस्तानलाई हरायो
सोमबार आफ्नो अन्तिम तथा निर्णायक खेलमा भारतले पाकिस्तानलाई हरायो । पाकिस्तान यो प्रतियोगिताको पहिलो संस्करणको विजेतासमेत हो । ६ पटकको च्याम्पियन भारतविरुद्ध पाकिस्तानले निकै राम्रो प्रदर्शनसमेत गर्‍यो । तर, टोली समयमा गोल व्यहोर्न बाध्य भएको थियो । कोलम्बोमा भारतलाई जित दिलाउन डल्लामुवन गांगटे, गुनलेइबा वाङखेइराक्पाम र रहान अहमदले गोल गरेका थिए ।

पाकिस्तानका लागि मुहम्मद अब्दुल्ला र हाम्जा यासिरको नाममा गोल रह्यो । चलिरहेको प्रतियोगितामा सेमिफाइनल समीरकण पूरा हुँदा पाकिस्तानका स्ट्राइकर अब्दुल्लाहले सर्वाधिक ६ गोल गरेका छन् । उनले भुटानविरुद्ध ४–० को जितमा ह्याट्रिक पूरा गरेका हुन् । भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्समाथि ६–०, दोस्रो खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो । अर्काेतर्फ पाकिस्तानले पहिलो खेलमा भुटानलाई ४–० ले हराउँदा माल्दिभ्सविरुद्ध ५–२ को फराकिलो जित निकालेको थियो । 

सुझावित समाचार