जेन–जी प्रदर्शनको क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुँगटाको घरमा आगजनी हुँदा जलेर घाइते भएकी घरमा काम गर्ने महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जेन–जी प्रदर्शनको क्रममा आगजनीमा जलेर गम्भीर भएकी पर्साका सखुवा प्रसौनी गाउँपालिका– २ निवासी ४५ वर्षीया सुशीला हजाराको असोज ६ मा उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
गत भदौ २४ गते केन्द्रीय सदस्य रुँगटाकाे वीरगन्जस्थित रहेको घरमा प्रदर्शनकारीले आगो लगाउँदा घरमा काम गर्ने हजाराको ५० प्रतिशत शरीर जलेपछि नेसनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । तर, यहाँ स्वास्थ्य अवस्था सुधार नभएपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल काठमाडौंमा पठाइएको र त्यहाँ उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
उनका अनुसार सोही घरमा जलेका अर्को भारत बिहार राज्य सुगौलीनिवासी १८ वर्षीय विनय यादवको शरीरको विभिन्न भागको ९० प्रतिशत जलेको थियाे । तर, अहिले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत यादवको स्वास्थ्य अवस्था सुधार हुँदै गएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।