- दसैँ नजिकिएसँगै भारतसँग सीमा जोडिएका नाकामा चहलपहल, दसैँ मनाउन घर फर्कने र रोजगारीका लागि भारत जानेको लर्को
घटस्थापनाको अघिल्लो दिन आइतबार दिउँसो धनगढीको त्रिनगर नाकामा घर फर्कनेको भिड छिचोलेर नाका पार गर्ने हतारोमा देखिन्थे कैलालीको सुखडका हितेश कठरिया । घरमा आमाबुवा र भाइलाई छोडेर उनी भारतको पुनामा मार्बल काट्ने काममा जान लागेका हुन् । ‘चाडबाडका वेला घरपरिवार छाडेर देशबाहिर जाँदा नरमाइलो त लागिहाल्छ,’ मलीन देखिएका उनले भने । कठरिया गाउँकै साथी हरिनारायणसँगै पुना जान लागेका हुन् । रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यताले तीन वर्षदेखि परिवारसँग दसैँ मनाउन नपाएको दुखेसो हरिनारायणले सुनाए ।
डडेल्धुराको नवदुर्गाका कृष्ण भण्डारी भारतको बेंग्लोर जाँदै थिए । एक महिनाअघि घर आएका उनी बेंग्लोरको एक होटेलमा तीन वर्षदेखि गर्दै आएको कुकको काममा फर्कन लागेका हुन् । चाडबाडका वेला घरमा आमा, श्रीमती र दुई छोरा छाडेर जाँदा नरमाइलो लागे पनि बाध्यता रहेको उनले बताए । भण्डारीका अनुसार उनी रोजगारीका लागि भारत जान थालेको नौ वर्ष भएको छ । ६ वर्ष गुजरातमा काम गरेको र पछिल्लो तीन वर्षदेखि बेंग्लोरमा रहेको उनले बताए ।
‘घरासयी कामले एक महिनाको छुट्टीमा आएको थिएँ । छुट्टी सकिएपछि फर्कन लागेको हँु,’ भण्डारीले भने, ‘यहीँ काम गर्ने भएको भए त परिवारसँगै चाडपर्व मनाउन पाइन्थ्यो । यहाँ काम नपाएपछि परिवार पाल्न पनि अर्काको देश जानुपर्यो ।’ उनले स्वदेशमा रोजगारी पाइएला भन्ने आशा पनि नरहेको बताए ।
गरिबी, रोजगारी सिर्जना, औद्योगिक, पूर्वाधारलगायत विकास पछाडि रहेको सुदूरपश्चिमका लागि भारत रोजगारीको प्रमुख गन्तव्य हो । एकिन तथ्यांक नभए पनि सुदूरपश्चिमबाट भारतीय रोजगारीमा जानेको संख्या हजारौँ छ । चाडपर्वकै वेला यहाँका विभिन्न नाकाबाट दैनिक सयौँ नागरिक कामको खोजीमा भारत जानुले पनि सुदूरपश्चिममा बेरोजगारी र गरिबीको अवस्था दर्शाउँछ ।
हिजोआज दसैँका वेला भारत जानेहरू कतिपय बिदा सकिएर पुरानै काममा फर्कनेछन् भने कतिपय कामको खोजीमा जानेहरू । उनीहरूका अनुसार नेपालीहरू घर फर्कने भएकाले चाडबाडका वेला रोजगारी पाउन सहज हुन्छ । कतिपय दसैँ नहुनेहरू पनि कामको खोजीमा भारत गइरहेका छन् ।
डोटीका केआइसिंहका दीपक भट्टले यतिवेला काम पाउन सहज हुने भएकाले आफू भारतको पन्जाब जान लागेको बताए । नाकामा भारत जानेको भिडमा बालबालिका पनि देखिन्छन् । चाडबाडका वेला विद्यालय बिदा हुने भएकाले आमाबुवा भारतमा भएका बालबालिका आफन्तसँग उतै जाने गरेका छन् । अछामको मेल्लेखका भीमबहादुर विकसँग उनको गाउँका ६ जना बालबालिका गुजरातको राजकोट जाँदै थिए । विकका अनुसार सबै बालबालिकाका आमाबुवा उतै काम गर्छन् ।
उनी पनि घरमा आमालाई एक्लै छोडेर श्रीमती कमलासँगै काममा फर्कन लागेका हुन् । ‘भाइ पनि उतै काम गर्छ । साना छोराछोरी भाइको जिम्मा छाडेर हामी पनि केही दिनका लागि आएका थियौँ, चाडबाडका वेला आमालाई छोडेर फर्कंदै छौँ,’ नाकामा भेटिएका विकले भने ।
धनगढी उपमहानगरपालिका– २ का चन्द्रसिंह रोकाया आफ्ना नातिसहित परिवार र छरछिमेकका ११ जना बालबालिकालाई आफन्तसँग भारत पठाउन त्रिनगर नाका पुगेका थिए । विद्यालय बिदा रहेकाले बालबालिकालाई उनीहरूका आमाबुवा काम गर्ने ठाउँमा पठाउन लागेको उनले बताए ।
त्रिनगर नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार यतिवेला भारतबाट दैनिक एक हजारहाराहारीमा आइरहेका छन् भने डेढ–दुई सयजनासम्म भारत जाने गरेका छन् । सीमावर्ती बजारमा किनमेल गर्न जानेको संख्या करिब डेढ हजारभन्दा बढी हुन्छ ।
गुजारा चलाउन चाडपर्वको मुखमा परदेशतिर
आइतबार वनबासा नाकामा भेटिएका बैतडी दुर्गास्थानका परमल लुहारले बिदा सकिएकाले दसैँ नमनाएरै भारतको मुम्बई जान लागेको बताए । कञ्चनपुरको शुक्लाफाँटा– १२ कालागौडीका शेर आउजीले आफू दिल्लीको एक होटेलमा काम गर्दै आएको बताए । उनले लालपुर्जाविहीनलाई पुर्जा दिने हल्लाले घर आएको, तर देशमा जेन–जी आन्दोलनले पुर्जा वितरण हुने नहुने ठेगान नभएको परिवारसँग भारत जान लागेको बताए । स्वदेश (घरमै) बस्दा भारतमा रोजगारी गुम्ने भएपछि उनीहरू दसैँ नमनाएरै घर छाड्न बाध्य भएका छन् । ‘दसैँ मनाउन थाले उता कामबाट निकालिदिने डर छ,’ उनले भने । गुजारा चलाउन भन्दै उनीहरू गड्डाचौकी बनबासा नाका भएर दसैँकै मुखमा भारत जान बाध्य भएका हुन् ।
कोही एकल कोही, सपरिवार भारत गएका छन् । बैतडीका परमल र कञ्चनपुरका शेरे जस्ता दार्चुलाको खलंगा, बैतडीको झुलाघाट, डडेल्धुराकोे परशुरामपरिगाउँ, कञ्चनपुरको ब्रह्मदेव, गड्डाचौकी, दोधाराचाँदनी, बेलौरी, पुनर्वास, डोकेबजारसहितका खुला नाकाहरूबाट सयौं युवा भारत गइरहेका छन् ।
जानेभन्दा आउने १८ प्रतिशत बढी देखिएका छन् । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले गड्डाचौकी नाकाबाट दैनिक आउने जाने हाराहारी भए पनि जानेभन्दा आउने बढी रहेकोे बताए । इलाका प्रहरी कार्यालय गड्डाचौकीको तथ्यांकअनुसार १ असोजदेखि हालसम्म एक हजार १९८ भारतबाट नेपाल आएका छन् भने नेपालबाट ९७९ भारत गएका छन् ।
जमुनाह नाका हुँदै भारतको केदारनाथ, सिमला लागे युवा
दसैँको मुखमा जाजरकोटको छेडागाड नगरपालिका– १० का ३१ वर्षीय खेमराज बुढा कामको खोजीमा भारत गएका छन् । दसैँमा परिवारसँगै बसेर रमाइलो गर्ने उनको चाहनालाई गरिबीले पूरा हुन दिएन । दसैँ मनाउन फर्किने नेपालीको लामो लाइनको विपरीत दिशामा उनी भेटिए । नेपाल फर्किने नेपालीको अनुहारमा चमक देखिन्छ । नेपाली भूमिमा पाइला टेक्नेबित्तिकै छुट्टै उत्साह देखिन्छ उनीहरूमा, तर भारत गइरहेका खेमराजको अनुहार मलिन छ ।
नेपालगन्जको जमुनाहा नाकामा भेटिएका उनले परिवार पाल्न दसैँको मुखमा भारत जान लागेको दुखेसो पोखे । ‘परिवारसँग बसेर दसैँ मनाउने चाहना थियो । छोराछोरीले औँला भाँच्दै दसैँ गनिरहेका थिए । म भने परिवार र आफ्नो पेट पाल्नकै लागि भारत जानुपरेको छ,’ गहभरि आँसु बनाएका उनले भने, ‘बाँचियो भने अर्को साल दसैँ मनाउँला भनेर परिवारसँग बिदा भएर भारत जाँदै छु । त्यहाँ काम पाउने कुनै निश्चित छैन ।’
खेमराजसँगै अन्य चारजना पनि कामको खोजीमा भारत गएका छन् । परिवार पाल्न समस्या भएपछि कामको खोजीमा भारतको केदारनाथ जान लागेको छेडागाड नगरपालिका– १० कै २८ वर्षीय कर्णबहादुर बुढाले बताए । उनले गरिबीले परिवारसँग दसैँ मनाउने चाहना खोसेको बताए । ‘हिन्दुहरूका लागि दसैँ सबैभन्दा ठुलो पर्व हो । टाढा–टाढाबाट दसैँ मनाउन घरमा आउँछन् । सबै फर्किने वेला कामको खोजीमा भारत जानुपर्दा दु:ख लाग्ने नै भयो,’ उनले भने, ‘भारत जाने हाम्रो रहर होइन, बाध्यता हो । मुहार हँसिलो भए पनि मन रोएको छ ।’
कालीकोटको शुभकालिका गाउँपालिका– ५ का ३० वर्षीय हर्क विक पनि दसैँको मुखमा भारततर्फ लागेका छन् । हिमाञ्चल प्रदेशको सिमला जान हिँडेका उनीसँगै सोही ठाउँका ६ जना पनि भारत गएका छन् । राज्यले रोजगार सिर्जना गर्न नसक्दा आफूजस्तै सयौँ युवा बिदेसिनुपरेको उनले बताए । ‘परिवारको सुखका लागि दसैँको मुखमा भारत जान लागेका छौँ,’ उनले भने, ‘राज्यले रोजगारी सिर्जना गरी स्वदेशमै बस्ने वातावरण बनाएको भए यसरी बिदेसिनुपर्ने थिएन । यसतर्फ राज्यको ध्यान जाओस् ।’
नेपालगन्जको जमुनाहा नाकाबाट दसैँ मनाउन आउनेको संख्या बढेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए । उनले कामको खोजीमा भारत जानेको संख्या पनि उस्तै रहेको बताए । ‘दसैँ नजिकिएकाले दैनिक सरदर दुई हजार नेपाली आउँछन्,’ उनले भने, ‘दैनिक सरदर दुई सय नेपाली कामको खोजीमा भारत गएको तथ्यांक छ । यो सामान्य दिनभन्दा एकदमै न्यून हो ।’