२४ भदौको जेन–जी आन्दोलनमा कांग्रेस सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्रीसमेत रहेका कांग्रेस नेता दीपक खड्काको बुढानीलकण्ठस्थित निवासमा ‘भेटिएको’ पैसामाथि अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण विभागको तीन सदस्यीय टोलीले घटनाको १३औँ दिन आइतबार दुवै नेताका निवासमा गएर मुचुल्का उठाइसकेको छ । तत्कालका लागि त्यही मुचुल्कामा टेकेर अनुसन्धान थालेको हो ।
देउवा र खड्काको घरमा ठुलो परिमाणमा पैसा भेटिएको भन्दै प्रदर्शनकारीले भिडियोमार्फत सार्वजनिक गरेका थिए । देउवाको घरमा आगोले जलेका बग्रेल्ती पैसाका टुक्रा र खड्काको घरबाट पैसा उडाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसको यथार्थ पहिल्याएर सार्वजनिक गर्न जनस्तरबाटै दबाब बढेपछि अन्तरिम सरकारकै निर्देशनमा विभागले तथ्य जाँचका लागि अनुसन्धान थालेको हो । सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको निकाय हो ।
‘विभागबाट तीन सदस्यीय टोलीले शेरबहादुर देउवा र दीपक खड्काको घरमा गएर आगजनी र तोडफोडबाट भएको क्षति, जलाइएको, नष्ट गरिएको र लुटिएको पैसाको विवरण संकलन गरेर ल्याएको छ,’ विभाग स्रोतले भन्यो, ‘कति नोट जले, कति सम्पत्ति क्षति भयो भनेर थप अनुसन्धान गर्नुपर्छ । पछि कुनै निकायलाई आवश्यक परे ती विवरण दिन सकिन्छ ।’
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धान गर्ने अधिकार विगतमा सम्पत्ति शुद्धीकरण विभागमा मात्रै निहित रहेकामा अहिले कटौती गरेर प्रहरी र अख्तियारलाई पनि दिइएको छ । तर, दुई नेताको घरमा पैसा भेटिएको घटनामा विभागले नै टोली खटाएर विवरण संकलन गरिसकेकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सभापति देउवा र उनकी श्रीमती निवर्तमान परराष्ट्रमन्त्री आरजु देउवा तथा खड्का यही प्रकरणमार्फत सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिने सम्भावना रहेको स्रोत बताउँछ । ‘उनीहरूका निवासमा रकम जलाएको, लुटेको वा उडाएको भनिएको छ । त्यो अहिले गएर भौतिक रूपमा देख्न सक्ने अवस्था त भएन । तर, यसले नेताहरूसँग अवैध रकम रहेको भने देखाएको छ,’ स्रोतले भन्यो । मुचुल्का संकलन गरेर ल्याएपछि विभाग अहिले विश्लेषण गर्ने र थप प्रमाण खोज्ने तयारीमा लागेको छ ।
पछिल्लो समय सम्पत्ति शुद्धीकरणमा नयाँ अनुसन्धान नगरेको विभागले नेताहरूको घरमा ठुलो परिमाणमा पैसा भेटिएको भन्ने विषयमा किन चासो देखायो भन्ने प्रश्न उठेको छ । यस्तो प्रश्नमा विभाग स्रोतको जवाफ छ, ‘आगजनी र तोडफोडबाट केही सम्पत्तिमा क्षति पुगेको छ । तर, यसैलाई देखाएर भोलि बढी वा कम क्षति दाबी गर्ने सम्भावना हुन्छ । क्षतिको यथार्थ अवस्था ल्याएको अवस्थामा भविष्यमा अनुसन्धान हुन सक्ने अवस्था आए यसले काम गर्छ ।’
सम्पत्ति शुद्धीकरणमै मुद्दा चलाउन सम्बद्ध कसुर पुष्टि हुनुपर्छ । सम्पत्ति शुद्धीकरण कानुनले अपराध मानेका भ्रष्टाचार, करछली, ठगी, लागुऔषधको कारोबार इत्यादिमा संलग्न भएको कसुर स्थापित भएपछि मात्रै त्यसलाई शुद्धीकरण गर्न गरेका गतिविधिमाथि अनुसन्धान गरेर सम्पत्ति शुद्धीकरणको अभियोजन गरिन्छ । सम्बद्ध कसुर स्थापित गर्न सम्बन्धित कसुर हेर्ने निकायबाटै अनुसन्धान हुनुपर्छ । उदाहरणका लागि सम्पत्ति शुद्धीकरण ऐनअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार, नेपाल प्रहरीले ठगी, किर्ते, लागुऔषधलगायत तथा राजस्व अनुसन्धान विभागले राजस्व चुहावटका कसुरउपर छानबिन र अभियोजन गर्छन् । कुनै सम्बद्ध कसुर स्थापित भएपछि त्यसलाई बढे/बढाएसमेतबाट शुद्धीकरण भएको देखिएपछि सम्पत्ति शुद्धीकरणको अभियोजन हुन्छ ।
‘अहिले नै अनुसन्धान अघि बढाउने वा कसरी गर्ने भन्नेबारे आकार आउँदैन । किनकि यसका लागि धेरै प्रमाण आवश्यक हुन्छ । अहिले त विषय प्रारम्भिक अवस्थामै छ,’ स्रोत भन्छ । विभागले कागजातहरू हेरेर जुन निकायले हेर्न उपयुक्त हुन्छ, त्यतै रिफर गर्ने गरी काम गरिरहेको स्रोत बताउँछ । सम्बद्ध कसुर हेर्ने निकायलाई नै नयाँ ऐनले सम्पत्ति शुद्धीकरणसमेतको अभियोजन हेर्ने अधिकार सुम्पिदिएको छ ।
सत्ता र शक्तिको केन्द्रमा रहँदै आएका नेताहरूले ठुलो परिमाणमा अवैध रकम संकलन र जम्मा गरेको हुन सक्ने आशंका नागरिकले विगतदेखि गर्दै आएका थिए । जेन–जी आन्दोलनका क्रममा देउवा र खड्काको घरमा ठुलो परिमाणमा पैसा भेटिएको भन्दै भिडियोमार्फत सार्वजनिक भएपछि नागरिकको आशंकालाई बल पुगेको छ । भ्रष्टाचारविरुद्ध उठेको जेन–जी आन्दोलनकै जगमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई यसमाथि छानबिन गर्नुपर्ने दबाब स्वत: परेको थियो ।
घटनाको केही दिनपछि वक्तव्य जारी गर्दै देउवाका स्वकीय सचिवले प्रस्टीकरण दिएका थिए– पैसा भेटिएको सत्य होइन
शेरबहादुर देउवाको बुढानीलकण्ठ निवासमा पैसा भेटिएको भनेर सामाजिक सञ्जालमा भिडियोहरू भाइरल भएपछि उनका स्वकीय सचिव भानु देउवाले वक्तव्य जारी गर्दै ‘पैसा भेटिएको घटनामा सत्यता नभएको’ प्रस्टीकरण दिएका थिए । ‘जघन्य आपराधिक घटनापछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा देउवानिवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवासपरिसरमा जताततै भेटिएको, पैसाको सुरुङ रहेकोजस्ता कपोलकल्पित समाचार सम्प्रेषण भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ २ असोजमा जारी वक्तव्यमा भनिएको छ, ‘सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोलकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार हुन् । यस्ता बदनाम गराउने उद्देश्यले विशेष गरी सामाजिक सञ्जालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्दछु ।’
घरभित्र रहेको अन्डरग्राउन्ड पानीट्यांकीलाई पैसा राख्ने सुरुङ भनेर प्रचार गरिएको उनको दाबी छ । ‘जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ । यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ,’ भानु देउवाको प्रेस वक्तव्यमा उल्लेख छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने– घरमा जलेको भनिएको पैसाबारे सभापति देउवाले नै जवाफ दिनुपर्छ
सभापति देउवालगायत नेताका घरभित्र पैसा जलेको विषयलाई लिएर चौतर्फी आलोचना भएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसबारे सम्बन्धित नेताहरूले नै जवाफ दिनुपर्ने बताएका छन् । जेन–जी प्रदर्शनमा आक्रमणबाट क्षतिग्रस्त विराटनगरस्थित कोइरालानिवास अवलोकनमा पुगेका शर्माले सोमबार पत्रकारहरूसँग भने, ‘यसबारे स्पष्ट गर्ने दायित्व घरवालाकै हो । उहाँहरूले नै स्पष्ट गर्नुपर्छ । यसलाई राज्यले अनुसन्धान गरेर हेर्ने हो, आशंका मात्रै पनि हुन सक्छ ।’ आफूले पनि सभापति देउवालाई फोन नै गरेर यसबारे ध्यानाकर्षण गराएको उनले बताए ।