दाङमा खुल्याे तीन सय बेडको अस्पताल, असोज अन्तिमदेखि सेवा सुरु

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

दाङको घोराही उपमहानगरपालिका–३ भानपुरमा तीन सय बेड क्षमताको सञ्जीवनी अस्पताल स्थापना भएको छ। अस्पतालको उद्घाटन आज भए पनि असोज अन्तिम सातादेखि मात्रै सेवा दिने तयारी छ।

सञ्जीवनी शिक्षण अस्पतालका रूपमा प्रस्तावित अस्पतालमा शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गर्ने योजना रहेको अस्पतालका सिइओ दीपक रोकाले बताए।

‘हाल तीन सय बेडको अस्पताल सञ्चालन गरेर सेवा गर्नेछौँ,’ उनले भने, ‘अस्पताल सञ्चालन गरेको तीन वर्षपछि शैक्षिक कार्यक्रम सञ्चालन गर्न मिल्छ।’

अस्पताल सञ्चालनका लागि हाल स्वास्थ्य मन्त्रालयबाट आशयपत्र (एलओआई)ल्याएको तथा उपकरण खरिदका लागि पनि अनुमति ल्याइसकेको उनले बताए।

अस्पताल सञ्चालनका लागि वातावरणीय तथा सामाजिक स्वीकृति, स्वास्थ्य सेवा विभागबाट  प्रारम्भिक स्वीकृतिपत्र र सबै कागजात पूरा भएपछि अन्तिम स्वीकृति गरेर अस्पताल सञ्चालन अनुमति पाइन्छ। दाङमा पहिलोपटक निजीस्तरबाट तीन सय बेड क्षमताको अस्पताल सञ्चालन हुन लागेको हो । अनुमति पाँच सय बेडको भए पनि हाल तीन सय बेड सञ्चालन गरिने उनले बताए ।

अस्पतालले नौवटा नियमित विशेषज्ञ सेवासहित मुटुरोग, मष्तिस्क, छाती, मिर्गौला, पाचन प्रणालीलगायतका सेवा दिने छ । अहिले जिल्लाबाट बिरामीहरू बाहिर रेफर हुने अवस्था रहेको र यहाँ सेवा सुरु गरेपछि रेफर सिस्टम अन्त्य हुने सिइओ रोकाको भनाइ छ। 

अस्पतालको अध्यक्ष खुमाप्रसाद अर्यालले यसअघि नेपालगन्ज मेडिकल कलेज कोहलपुर, गण्डकी मेडिकल कलेज पोखरा र युनिभर्सल मेडिकल कलेज भैरहवामा सञ्चालन गरेका छन्। 

करिब चार अर्ब लगानीमा उक्त अस्पताल सञ्चालनमा आउन लागेको हो। करिब ५ बिघा जग्गामा अस्पताल रहेको छ। ०७८ सालदेखि अस्पतालका संरचना निर्माण सुरु गरिएको थियो 

उद्घाटनसँगै स्वास्थ्य शिविर 
शिक्षण अस्पतालका सञ्चालक समितिका अध्यक्ष खुमाप्रसाद अर्यालले विधिवत् रूपमा पूजापाठ गरी शुभारम्भ गरेसँगै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

जनरल फिजिसियन सेवा, हाडजोर्नी तथा नशा सेवा, मानसिक रोग सेवा, स्त्री तथा प्रसूति सेवा, बालरोग तथा शिशु सेवा, छाला तथा यौन रोग सेवा, फार्मेसी सेवा, जनरल सर्जरी, अल्ट्रासाउन्ड सेवा, प्रयोगशाला सेवालगायत विशेषज्ञ चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा ९५७ जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने आवश्यक परामर्श र उपचार सेवा प्राप्त गरेका थिए। साथै, बिरामीलाई आवश्यक पर्ने औषधि निःशुल्क वितरण गरिएको थियो। 
 

सुझावित समाचार