राइड सेयरिङको विरोध गर्दै आएका यातायात व्यवसायीकै सम्लग्नातामा राइड सेयरिङसम्बन्धी एप ‘मुभइन’ सञ्चालनमा आएको छ । ट्याक्सी सेवालाई समयसापेक्ष एवं प्रविधिमैत्री बनाउने भन्दै उनीहरूले एप सञ्चालनमा ल्याएका हुन् ।
एप शुभारम्भ गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघका आधा दर्जन केन्द्रीय नेता पोखरा आएका थिए । कार्यक्रममा उनीहरूले एपलाई धेरैभन्दा धेरैले प्रयोग गर्ने बनाउँनुको साथै देशव्यापी बनाउन जोड दिएका छन् ।
आइटी इन्जिनियर रविन तिवारीको नेतृत्वमा ६० जनाको टोलीले एक वर्ष लगाएर स्वदेशी सिप र लगानीमा तयार गरेको एपको पोखरेली ट्याक्सी सेवा प्रालि, मुभइन प्रालि, स्किल इनोभेसनसँगै विभिन्न व्यवसायीको लगानीमा सोमबारदेखि शुभारम्भ गरिएको हो ।
मुभइन प्रालिका सिइओ प्रमेश पराजुलीका अनुसार नेपालीले आफ्नै सिप र लगानीमा बनाएको यो नेपालै पहिलो एप भएको दावी गरे । एपमा सार्वजनिक सवारीहरूमात्र जोडिने र हाल ट्याक्सी सेवा सञ्चालन हुने बताए । अन्य राइड सेयरिङ जस्तो निजी कार र मोटरसाइकल हाललाई नजोडिएको उनको भनाइ छ ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङका लागि कस्तो नीति बनाउँछ सोहीअनुसार थप अन्य सवारी जोड्दै जाने पराजुलीले बताए । पोखरेली ट्याक्सी सेवा प्रालिको समेत लगानी रहेको एपमा हाल समितिमा आबद्ध एक हजारभन्दा बढी ट्याक्सी आवद्ध भैसकेको उनले बताए । हाललाई प्रयोग निःशुल्क गरिएको एपलाई पोखरामा सफल भएपछि विस्तारै देशभर विस्तार गर्ने उनले बताए । पछि केही शुल्क लिने र हाल प्रयोगमा रहेका अन्य एपको भन्दा कम मूल्यमा सेवा लिन सक्ने उनले बताए ।
पराजुलीका अनुसार हाल पोखरामा दुई हजार ट्याक्सी छन् । तीमध्ये करिब एक हजार आठ सय सञ्चालनमा छन् । सिजनमा दैनिक तीनदेखि चार हजार र अफसिजनमा एक हजार पाँच सयसम्म एक ट्याक्सीले कमाई गर्ने गरेको भनाइ छ ।
शुभारम्भ कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले निजीलाई हटाएर राईड सेयरिङको नियम कार्यान्वयन गर्नुपर्ने बताए । व्यवसायीहरू समयसापेक्ष एंव प्रविधिमैत्री हनुपर्नेमा जोड दिँदै नेपालीले आफ्नै लगानीमा तयार गरेको यो एपलाई देशभर लैजान आवश्यक रहेको र यसका लागि महासंघले सहयोग गर्ने बताए ।
महासंघका अर्का वरिष्ठ उपाध्यक्ष ऐनकुमार साईले एप सञ्चालनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने असहयोग गरेको बताए । उनले प्रश्न गदै भने, ‘मुख्यमन्त्रीले अन्यलाई वचन दिएकाले यसलाई बेवास्ता गर्नु भएको होला ।’
महासंघका ट्याक्सी हेर्ने उपाध्यक्ष प्रकाशमणि तिवारीले एप सञ्चालनमा आएसँगै आजैदेखि चोक चोकमा ‘हाउ मच’ भन्दै भाडा बार्गेनिङ गर्ने चलन अन्त्य हुने बताए ।
महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले हाल देशमा विदेशी एपहरुको मात्र प्रयोग हुँदै आएकोमा नेपालीले बनाएको एप प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले एपको प्रयोगपछि सेवामा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे । एपको प्रयोगले सेवाग्राहीले आफ्नै घर गेटबाट सेवा लिन सक्ने बताए ।
चार महिनाअघिसम्म राइड सेयरिङको विरोधमा थिए व्यवसायी
चैत ०८१ मा बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, ०८२ पारित गरेको थिये । सरकारले वैशाखमा राजपत्रमा उक्त कानुन प्रकाशित गरेसँगै गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानूनी मान्यता पाएको थियो ।
‘राइड सेयरिङ’ ले गण्डकीमा कानुनी मान्यता पाएपछि यहाँका यातायात व्यवसायीले सार्वजनिक यातायात बचाउ संघर्ष समिति गठन गर्दै विरोधमा उत्रिएका थिए । उनीहरूले नियमावली खारेज हुनुपर्ने भन्दै १६ जेठदेखि गण्डकीमा र १९ जेठदेखि देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए । २० जेठमा संघीय सरकारले केन्द्रमा यातायात व्यवसायीसँग वार्ता गर्दै गण्डकीले जारी गरेको नियमावली तत्काललाई स्थगित गर्ने लगायत ६ बुँदे सहमति गरेको थियो ।
त्यसपछि सर्वोच्च पुगेको विवादका सम्बन्धमा १० असारमा स्थगन नगर्न अन्तरिम आदेश आएपछि नियमावली कार्यान्वयनको बाटो खुलेको थियो ।