सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले असोज ८ देखि १२ गतेसम्म भैरहवामा दसैँ सस्तो बजार सञ्चालन गर्ने भएको छ ।
सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी संघले आफ्नै कार्यालयपरिसरमा दसैँ सस्तो बजार सञ्चालन गर्न लागेको अध्यक्ष नेत्प्रसाद आचार्यले बताए ।
पाँच दिनसम्म सञ्चालन हुने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाँडा, जुत्ता–चप्पल, घरेलु उत्पादनलगायतका १४ वटा स्टल रहने संघका अध्यक्ष आचार्यले जानकारी दिए । बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने सस्तो बजारमा ५० देखि ६० लाख रुपैयाँसम्मको कारोबार हुने संघले अनुमान गरेको छ ।
आमउपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरू एकै थलोबाट उपलब्ध गराउने, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोग प्रवर्द्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने र दसैँ, तिहार, छठलगायतका महान् पर्वहरूमा स्थानीय बजारलाई सक्रिय बनाउने बजारको मुख्य उद्देश्य रहेको संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।
संघले भैरहवामा पहिलोपटक ०५८ सालमा दसैँ र तिहार बजार, दोस्रोपटक ०५९ सालमा, तेस्रोपटक ०७९ सालमा र चौथोपटक ०८० सालमा दसैँ बजार सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यो परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि संघपरिसरमा बजार आयोजना गर्न लागिएको होे ।
दसैँ सस्तो बजारमा बाहिर बजारभन्दा केही प्रतिशत छुट प्रदान गरिने र स्वदेशी बजारमा किनमेल गर्न उपभोक्तालाई उत्प्रेरित गर्ने उद्देश्यले दसैँ सस्तो बजार सञ्चालन गर्न लागिएको संघका पूर्वअध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दु, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरेले दसैँ सस्तो बजारले आमउपभोक्तालाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।