सुकेटार विमानस्थलमा दुई महिनादेखि हवाई सेवा ठप्प

१५ जेठदेखि असोज पहिलो सातासम्म वर्षाकै कारण जहाज आउँदैन, जब मौसम सफा हुन्छ तब जहाज नै हुँदैन, पर्यटकीय सिजन सुरु भइसके पनि उडान बन्द, दुई महिनाको अवधिमा तीनपटक जहाज बिचबाटै पुनः काठमाडौं फर्कियो

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङ प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ हो । यहाँबाटै विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा हेर्न पाइन्छ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिर पनि यही जिल्लामा पर्छ । यति महत्वपूर्ण पर्यटकीय र धार्मिक गन्तव्य रहेको ताप्लेजुङ पुग्ने सजिलो माध्यम भनेको सुकेटार विमानस्थल हो । तर, यो विमानस्थल वर्षौँदेखि चले पनि नचलेबराबरकै अवस्थामा छ । पछिल्लो समय त दुई महिनादेखि जहाज आएको छैन । 

०३३ सालमा निर्माण गरिएको सुकेटार विमानस्थलबाट केही समय नियमित उडान भए पनि पछिल्ला वर्षहरूमा यसको सेवा अवरुद्धजस्तै भएको छ । जहिल्यै मौसम नखुलेको भनेर जहाज आउँदैन, कहिले जहाज नपाएर सेवा रोकिन्छ । पछिल्लो समय नेपाल वायुसेवा निगमका जहाज बिग्रिएपछि मर्मतका लागि पठाइयो र त्यसयता सुकेटारमा नियमित उडान भएको छैन । जेठको १५ देखि साउन, भदौ तथा असोजको पहिलो सातासम्म बर्सातकै कारण जहाज अवतरण गर्न सक्दैन । जब मौसम सफा हुन्छ, तब जहाज नै हुँदैन ।

जहाजको आसमा स्थानीय बासिन्दाले पनि दुःख मात्रै पाउने गरेका छन् । दुर्गम गाउँबाट बिरामी बोक्दै विमानस्थलसम्म आइपुग्दा पनि जहाज नउडेपछि उनीहरू सडकमार्गको आश्रय लिन बाध्य हुन्छन् । तर, ताप्लेजुङदेखि धरान वा काठमाडौं पुग्न घण्टौँको जोखिमपूर्ण यात्रा गर्नुपर्छ । केही बिरामीले गन्तव्यमै पुग्न नपाई बाटोमै ज्यानसमेत गुमाउँछन् । 

पर्यटकका लागि पनि सुकेटारमा उडान नहुँदा ठुलो समस्या भएको स्थानीयहरू बताउँछन् ।कञ्चनजंघा आधारशिविर ट्रेकमा जान चाहने आन्तरिक र विदेशी पर्यटकले पटक–पटक यात्रा स्थगन गर्नुपरेको छ । पाथीभरा दर्शन गर्न आउने भक्तजन पनि जहाज नउड्दा असहज बनेका छन् । यसले ताप्लेजुङको पर्यटन व्यवसायलाई समेत नराम्रो असर पारेको छ । 

सुझावित समाचार