बडादसैँ लक्षित गर्दै हिमाली क्षेत्रका भेडा–च्यांग्राहरू पोखरा ल्याउने क्रम सुरु भएको छ । प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, बझाङ, बाजुरालगायतका स्थानसँगै छिमेकी देश चीनबाट व्यापारीले बिक्रीका लागि पोखरामा भेडा–च्यांग्रा ल्याउने गर्छन् । हालसम्म पोखरामा आठ–दश हुल भेडा–च्यांग्रा आइसकेका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि पनि लाभदायक हुने भन्दै उपभोक्ताको विशेष रोजाइमा भेडा–च्यांग्रा पर्ने गर्छ । पोखरा ल्याइएका प्रतिगोटा च्यांग्रालाई यो वर्ष ४५ देखि ५० हजारसम्म मूल्य तोकिएको छ ।
जोमसोमको घिलिङदेखि एक सय ४० च्यांग्रा बिक्रीका लागि पोखरा ल्याएका हेम्जाका व्यापारी सुकबहादुर तामाङले प्रतिगोटा ३८ देखि ४० हजार तिरेर तीन–चारवटा गोठबाट खरिद गरेको बताए । पोखरा ल्याएर ४५ देखि ४८ हजारसम्म प्रतिगोटा बिक्री भइरहेको उनको भनाइ छ । एउटा च्यांग्राको नेट मासु २० देखि २२ किलो हुने उनले बताए ।
ग्राहकले गत वर्षको तुलनामा यस वर्ष खरिद गर्दा प्रतिगोटा चार–पाँच हजार मूल्य कम पर्ने उनले बताए । यस वर्ष १२ हजार हराहारीमा भेडा–च्यांग्रा पोखरा आउने उनले बताए । भेडा–च्यांग्रा खरिदका लागि पोखरासँगै काठमाडाैं र बुटबलका व्यापारी मुस्ताङ पुगेका छन् ।
अर्का व्यापारी पोखरा हेम्जाका ऋषिराम पौडेलले उपल्लो मुस्ताङबाट एक सय ६० च्यांग्रा ल्याएको बताए । ४५ हजारमा खरिद गरेर ल्याएको च्यांग्रा पोखरा ल्याइपुर्याउँदा प्रतिगोटा ५० हजारसम्म परेको उनले बताए । बिक्री गर्दा च्यांग्राको आकार र तौल हेरेर ४५ देखि ५० हजारसम्म लिने उनले बताए । गत वर्षको तुलनामा यस वर्ष खरिद गर्दा नै तीन–चार हजार मूल्य बढी परेकाले यस वर्ष मूल्य केही बढ्ने पौडेलको भनाइ छ ।
मुस्ताङस्थित चिनियाँ नाका खुले पनि भेडा–च्यांग्रा नआएका कारण मुस्ताङमा नै मूल्य बढी पर्न गएको व्यापारीको भनाइ छ । यसअघि मुस्ताङबाट चार–पाँच दिन लगाएर म्याग्दीमा ल्याइपुर्याउने र त्यहाँबाट गाडीमा नौदेखि १० घण्टा लगाएर पोखरा ल्याइपु¥याएको व्यापारीको भनाइ छ । व्यापारीले पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलसँगै १ र २५ मा पर्ने पोखरा–बागलुङ राजमार्गको सडक–किनारमा राखी बिक्री गर्दै आएका छन् । यस वर्ष सबैतिरबाट गरी पोखरामा करिब १५ हजारभन्दा बढी भेडा–च्यांग्रा आउने अनुमान व्यापारीहरूको छ ।
विशेष गरी पोखरामा फूलपातीको दिनमा भेडा–च्यांग्रा बढी बिक्री हुने गरेको छ । पोखराको पुरानो टुँडिखेलमा भेडा–च्यांग्रा बिक्रीका लागि राखिन्छ र त्यहाँ ठुलो मेलासमेत लाग्ने गर्छ । पोखरामा आएकामध्ये दुईतिहाइ च्यांग्रा स्थानीयस्तरमै बिक्री हुने र बाँकी काठमाडौं, धादिङ, तनहुँ, स्याङ्जा, चितवन, बुटबल, धरान, पाल्पालगायतका देशका विभिन्न जिल्लामा लाने गरिन्छ ।