जेन–जीले उठायो संखुवासभामा सुशासन र भष्ट्राचारमुक्त समाज

सरकारी कार्यालय र स्थानीय सरकारका जनप्रतिनिधीसँग अन्तर्क्रिया

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण
जेन–जीले उठायो संखुवासभामा सुशासन र भष्ट्राचारमुक्त समाज

अन्तर्क्रियाका सहभागीहरू ।

जेन–जीले उठाएका बिषयवस्तुका सम्बन्धमा जिल्लास्थित सरकारी कार्यालय र जनप्रतिनिधिहरूबिच खुला अन्तर्क्रिया आयोजना भएको छ । आइतबार सदरमुकाम खाँदबारीस्थित जिल्ला समन्वय समितिको सभाहलमा जेन–जी समूहले उठाएको सुशासन कायम र भ्रष्टाचारमुक्त समाज बनाउने अभियानअन्तर्गत सरोकारवालाहरूसँग छलफल तथा अन्तर्क्रिया आयोजना गरिएको हो ।

जेन–जी समूहले संखुवासभाका सबै सरकारी तथा गैरसरकारी कार्यालयहरू सुशासन कायम हुनपर्ने र भ्रष्टाचारमुक्त समाज बनाउन सबै लाग्नुपर्ने धारणा राखेका थिए । जेन–जी समूहका युवाहरूले जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख र जिल्लास्थित सबै सरकारी कार्यालयका प्रमुखलाई कार्यक्रममा निमन्त्रणा गरिएको थियो । युवाहरूले पालैपालो बिषयगत कार्यालयहरूले गरेको कार्यसम्पादन, अनुदान वितरण, कर्मचारी तथा जनप्रतिनिधीहरूले गर्ने सवारीसाधान दुरूपयोग, करार कर्मचारी नियुक्ति, कार्यालयमा दिने सेवाप्रवाह लगायतका बारेमा विविध प्रश्नहरू उठाएका थिए ।

जेन–जी समूहले खाँदबारी बसपार्क व्यवस्थापन, कुसुले कुवा अतिक्रमणलगायत विविध विषयमा उठाएकाे प्रश्नहरूको संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जवाफ दिँदै चाँडै समस्या समाधान हुने प्रतिबद्धता जनाएकी थिइन् । कुसुले कुवा अतिक्रमण गरेर होटल निर्माण गरेको विषयमा जग्गा एकिन भइसकेको र रेखाङ्कन गर्ने तयारीमा रहेको प्रजिअ थपलियाले बताइन् । 

सदरमुकाममा रहेको कुसुले कुवा अतिक्रमण गरेको आरती होटलले तारबेरा गरेपछि युवाहरूले ताकेता गरेका हुन् । सार्वजनिक सम्पत्ति अतिक्रमण भएको युवाहरूको ठहर छ । त्यसैगरी जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले खेताला स्वकीय सचिव राखेको बिषयमा समेत प्रश्न उठेको थियो । कार्यालयको कागजी रूपमा सीता भट्टराई नियुक्ति गरी कामकाज ललित श्रेष्ठ राखेको बिषयमा प्रश्न उठेपछि जिसस प्रमुख शाक्यले अब कागजी रूपमा नै गराउने प्रतिबद्धता व्यक्त गरे ।

अन्तर्क्रियापछि ७ बुँदे प्रतिबद्धता पत्रमा सबैले हस्ताक्षार गरेका थिए । जिल्लास्थित सबै कार्यालय र जनप्रतिनिधीहरूले सुशासन कायम गराउन र भष्ट्राचारमुक्त समाज निर्माण गर्ने लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको आयोजना जिल्ला समन्वय समिति संखुवासभाले गरेको हो । 

सुझावित समाचार