सप्तरीबाट दुई उज्वेकिस्तानी र एक भारतीय पक्राउ

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

सप्तरी प्रहरीले दुईजना उज्वेकिस्तानी महिलासहित तीनजनालाई पक्राउ गरेको छ। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा शनिबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

​पक्राउ पर्नेमा उज्वेकिस्तानकी ३९ वर्षीया फेरुजा याख्शिमुरातोवा र ३९ वर्षीया शोखिस्ता अकबारोवा छन्। उनीहरूसँगै मोटरसाइकलचालक भारत बिहारका २० वर्षीय नीतीशकुमार बिन्दा पनि पक्राउ परेका छन्। ​जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम केसीका अनुसार बलान बिहुल गाउँपालिका– ४, बेल्हीस्थित चन्ही–बेल्ही सडकखण्डको भित्री बाटोबाट भारत प्रवेश गर्न लागेको वेला प्रहरीले चेकजाँच गर्दा उनीहरू फेला परेका थिए।

​पक्राउ परेका दुवै उज्वेकिस्तानी महिलासँग पासपोर्ट नभएको र उनीहरूले आफूहरू झुक्किएर सीमा क्षेत्रमा आइपुगेको बताएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। यद्यपि, उनीहरूलाई सीमा पार गराउने प्रयासमा भारतीय नागरिक संलग्न भएकाले शंका बढेको प्रहरीको भनाइ छ।
​
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरी उपरीक्षक केसीले दुवै महिला काठमाडौंमा बसेको होटेल र उनीहरूको नेपाल आउनुको उद्देश्यबारे अनुसन्धान भइरहेको बताएका छन्। थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने उनले बताए।

सुझावित समाचार