बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट पुनरावलोकन गर्ने निर्णय गरेको छ । २३–२४ भदौमा जेन–जी आन्दोलनका क्रममा सरकारी संरचनामा ठुलो क्षति पुगेकाले तत्काल पुनर्निर्माणका लागि बजेट पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको प्रदेश सरकारले जनाएको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको नि:शुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । साथै, ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्ने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्री तामाङका अनुसार आन्दोलनका क्रममा घाइते भएकालाई प्रदेशमातहतका अस्पतालमा नि:शुल्क उपचार सुविधा उपलब्ध गराइनेछ । सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै सरकारले पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको उनले बताए । ‘बजेट पुनरावलोकनबाट साना र परिणाम नदिने टुक्रे योजना कटौती गरिनेछ । बजेटलाई पुनर्निर्माण र देखिने परिणाममुखी विकासका काममा केन्द्रित गरिनेछ,’ प्रवक्ता तामाङले भने ।
बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा चालू आवका लागि अस्थायी दरबन्दीलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।