आपतकालमा नेतृत्व गर्ने मन्त्रालय नै ध्वस्त, स्वास्थ्य सेवा र समन्वय प्रभावित

देशैभरका अस्पताल र अन्य स्वास्थ्य संस्थाको नेतृत्व गर्ने मन्त्रालय खरानी हुँदा बैठक बस्ने, योजना तय गर्ने र औषधि तथा उपकरण खरिदजस्ता महत्वपूर्ण प्रक्रिया अघि बढाउन समस्या

सोमबार, ३० भदौ, २०८२
डिजिटल संस्करण

 १२ वटा एम्बुलेन्स तोडफोड

देशको समग्र स्वास्थ्य प्रणालीकै नेतृत्व गर्ने जिम्मा रहेको स्वास्थ्य मन्त्रालय नै खरानी बनेपछि विषम परिस्थितिमा रणनीति निर्माणदेखि सेवा प्रवाहसम्ममा गम्भीर प्रभाव परेको छ । जेन–जी प्रदर्शनका क्रममा स्वास्थ्य मन्त्रालयसहित ३७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । हाल क्षतिको यथार्थ विवरण संकलन र मुचुल्का तयार गर्ने काम भइरहेको छ ।

सचिव डा. विकास देवकोटाका अनुसार देशैभरका अस्पताल र अन्य स्वास्थ्य संस्थाको नेतृत्व गर्ने मन्त्रालय खरानी हुँदा बैठक बस्ने, योजना तय गर्ने र औषधि तथा उपकरण खरिदजस्ता महत्वपूर्ण प्रक्रिया अघि बढाउन समस्या भएको छ । सरकारले घाइतेको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ, तर मन्त्रालय ध्वस्त हुँदा समन्वयमा कठिनाइ भएको छ । 

मन्त्रालयका सचिव डा. देवकोटाले मन्त्रालयभित्र रहेको कुनै पनि सामग्री बाँकी नरहेकाले समन्वयमा समस्या भइरहेको बताए । उनका अनुसार हाललाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट सेवा प्रवाह गर्ने तयारी भइरहेको छ । मन्त्रालयको पछाडि रहेको एनएचआरसीको भवन जोगिएको छ । ‘मन्त्रालयको कुनै पनि चिज बाँकी छैन । सबै जलेर खरानी भएको छ । मन्त्रालय नभए पनि बाहिरबाटै समन्वयात्मक काम भइरहेको छ,’ उनले भने, ‘टेकुस्थित स्वास्थ्य विभागकोे भवनमा क्षति नभएकाले देशभरि हुने स्वास्थ्य क्रियाकलाप विभागबाट भइरहेका छन् । अहिलेलाई नजिकै रहेको एनएचआरसीको भवनबाट सेवा प्रवाह गर्ने तयारी भइरहेको छ ।’

प्रदर्शनकारीले प्रत्यक्ष रूपमा अस्पतालहरूमा प्रहार नगरेपछि स्वास्थ्यसँग सम्बन्धित भवन तथा प्रशासनिक कार्यालयहरू तोडफोड र आगजनी भएको सचिव डा. देवकोटाले बताए । उनका अनुसार मुख्य गरी बागमती र कोशीका स्वास्थ्य संस्थामा क्षति पु¥याइएको छ । मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र प्रादेशिक स्तरमा रहेका हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचइओसी)हरूका क्षति पुगेको छ । औषधि व्यवस्था विभागको अगाडिको भागमा तोडफोड भएको छ  । हरेकजसो आपत्कालमा रणनीतिक नेतृत्व, समन्वय केन्द्र, स्रोत व्यवस्थापन, अन्तर्राष्ट्रिय सहकार्य, विश्वसनीयताका कारण स्वास्थ्य मन्त्रालय महत्वपूर्ण मानिन्छ । मन्त्रालय ध्वस्त वा निष्क्रिय हुँदा आपत्कालीन स्वास्थ्य प्रणाली असर पर्ने विज्ञहरू बताउँछन् । 

यति मात्र होइन, जेन–जी आन्दोलनका क्रममा १२ एम्बुलेन्स तोडफोड गरिएको छ भने पाँचवटामा एम्बुलेन्समा आगजनी गरिएको छ । प्रदर्शनका क्रममा अराजक समूहले एम्बुलेन्समा प्रहार गरेको थियो । त्यस्तै, कतिपय नेताहरूलाई एम्बुलेन्समा समेत सुरक्षा दिन थालिएको भन्दै एम्बुलेन्समा प्रहार भएको थियो । मन्त्रालय अझै देशभरको क्षति विवरण आउन बाँकी रहेको छ । 

 डा. विकास देवकोटा, सचिव, स्वास्थ्य मन्त्रालय
मन्त्रालयको कुनै पनि चिज बाँकी छैन । सबै जलेर खरानी भएको छ । मन्त्रालय नभए पनि बाहिरबाटै समन्वयात्मक काम भइरहेको छ, टेकुस्थित स्वास्थ्य विभागकोे भवनमा क्षति नभएकाले देशभरि हुने स्वास्थ्य क्रियाकलाप विभागबाट भइरहेका छन् । अहिलेलाई नजिकै रहेको एनएचआरसीको भवनबाट सेवा प्रवाह गर्ने तयारी भइरहेको छ । 
 

सुझावित समाचार