संसदबाटै संविधानसम्मत निकास खोज्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

पूर्वराष्ट्रपति विद्या भण्डारीले वतर्मान संविधानअनुसार नै नयाँ मन्त्रिपरिषद् गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेकी छिन्। संविधानको दायरा र संसदबाटै जेनजीको माग पूरा गर्नुपर्ने उनको धारणा छ।

‘प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधानबमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसदजस्ता संस्थाहरू कायम नै छन्। त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रीपरिषद गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ,’ पूर्व राष्ट्रपति भण्डारीले भनेकी छिन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि संविधानभित्रैबाट समस्याको निकास निकाल्न ध्यानाकर्षण गराएकी छिन्। ‘यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ। संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ। यसो गरिरहँदा आन्दोलनकारी जेन–जी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पु¥याउनु पर्दछ ’ उनको धारणा छ।

नेपाली जनताको त्याग, समर्पण र बलिदानको प्रतीकको रूपमा रहेको अहिलेको संविधान एउटा उत्कृष्ट संविधान भएको उल्लेख गर्दै उनले जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन्।

उनले संस्थागत ढङ्गले आफ्नो दृष्टिकोण स्पष्ट गरी पार्टीभित्रको एकता, हार्दिकता र समन्वयलाई बलियो बनाएर सहयात्री राजनीतिक दलसँग समेत सामन्जस्यता कायम राख्दै मुलुकलाई सही दिशामा हिँडाउन दृढ अठोट गर्न पनि आग्रह गरेकी छिन् । उनले जेनजीले परिकल्पना गरेको नेपाल अझ बढि लोकतान्त्रिक र अग्रगामी भउको विश्वास पनि व्यक्त गरेकी छिन्।

‘म विश्वास गर्दछु, सामाजिक सञ्जाल बन्द गरिँदा निस्सासिएको नेपाली समाजलाई जीवन उत्सर्ग गरेर फेरि स्वतन्त्रताको परिवेशमा फिर्ता ल्याउने ‘जेन–जी’ ले परिकल्पना गरेको नेपाल अझ बढी लोकतान्त्रिक र अग्रगामी नै हुनेछ । यस सन्दर्भमा ‘जेन–जी’ को उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि घात पर्ने गरी कुनै निर्णय गरिनु हुँदैन र नागरिक सर्वोच्चतामा चोट पु¥याउनु हुँदैन भन्नेमा पुनः जोड दिन चाहन्छु,’ भण्डारीले भनेकी छिन्।

सुझावित समाचार