रामेछापको खिम्तीमा बाेलेरो दुर्घटना, चार घाइते

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

गोकुलगंगा गाउँपालिकाबाट बिहीबार बिहान यात्रु लिएर सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बाेलेरो गाडी खिम्तीमा दुर्घटना हुँदा गाडीमा सवार चारजना घाइते भएका छन्।गोकुलगंगाबाट मन्थली आउँदै गरेको बागमती प्रदेश ०३–३–०२९ च ६३६० नम्बरको बाेलेरो गाडी लिखु तामाकोशी गाउँपालिका– ६ खिम्तीस्थित छतिवने खोलामा दुर्घटनामा परेको हो । छतिवने खोला पार गर्नेबित्तिकै गाडी अनियन्त्रित भई सडकमुनि पल्टिएको हो । 

गाडी दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका– ५, नामाडीका जिपचालक साङ्गे तामाङ र २२ वर्षीय नरबहादुर तामाङ घाइते भएका छन् । त्यसैगरी सोही गाउँपालिका– ६ फर्पुका वर्ष नखुलेका सिंहबहादुर तामाङ र दोलखा जिल्ला तामाकोशी गाउँपालिकाकी मधु विश्वकर्मा घाइते भएका छन् । 

घाइते सबैको स्थानीयहरूले घटनास्थलबाट उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाएका छन् । घाइतेहरूको हाल मन्थली अस्पतालमा उपचार भइरहेको छ।घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
 

सुझावित समाचार