लोकतन्त्रका आधारभूत मूल्य–मान्यता र राजनीतिक सहअस्तित्वकै आधारमा अगाडि बढ्नुपर्छ : रास्वपा

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

रास्वपाले नयाँ परिस्थितिमा लोकतन्त्रका आधारभूत मूल्य–मान्यता एवं राजनीतिक सहअस्तित्वकै आधारमा अगाडि बढ्नुपर्ने बताएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधबार जारी गरेको विज्ञप्तिमा पछिल्लो घटनाक्रबारे रास्वपा गम्भीर छलफल र विश्लेषणकै क्रममा रहेको भन्दै नयाँ राजनीतिक कोर्सबारे पार्टीका धारणा छिट्टै सार्वजनिक गर्ने उल्लेख छ ।

‘नयाँ परिस्थितिमा पनि मुलुक विधिको शासन, कानुनी सर्वोच्चता, मानव अधिकार, आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रताजस्ता लोकतन्त्रका आधारभूत मूल्य–मान्यता एवं राजनीतिक सहअस्तित्वकै आधारमा अगाडि बढाउनुपर्छ भन्नेमा रास्वपा दृढ छ,’ विज्ञप्तिमा भनिएको छ । युवा पुस्ताको चाहना राजनीतिक रूपमा सम्बोधन गर्ने/गराउने वातावरण निर्माणमा पनि सचेत रहेको रास्वपाले जनाएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ शान्तिपूर्ण र रचनात्मक राजनीतिको पक्षमा छ । र, आन्दोलनका क्रममा युवा पुस्ताले व्यक्त गरेको चाहनालाई राजनीतिक रूपमा सम्बोधन गर्ने/गराउने वातावरण निर्माणमा पनि सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक कोर्सलाई सही दिशामा अगाडि बढाउन, शान्ति–सुव्यवस्था कायम राख्न र सामाजिक सद्भाव अभिवृद्धिमा जनस्तरबाट निरन्तर खबरदारी र पहलकदमीका लागि पनि हार्दिक अपिल गर्दछौँ ।’

अबको राजनीतिक प्रक्रियालाई शान्तिपूर्ण, रचनात्मक, सहभागितामूलक र पारदर्शी बनाउन नसके दिगो र संस्थागत हुन नसक्ने रास्वपाको भनाइ छ । ‘जनतामाझ आशाको सञ्चार गर्न सकिएन भने नयाँ नेपाल निर्माण फेरि पनि आकांक्षामै सीमित हुनेछ । अबको राजनीतिक प्रक्रियालाई शान्तिपूर्ण, रचनात्मक, सहभागितामूलक र पारदर्शी बनाउन सकिएन भने परिवर्तनको चाहना दिगो रूपमा संस्थागत हुन सक्दैन,’ विज्ञप्तिमा छ । 

See More On

सुझावित समाचार