एससिओ विकास बैंकले बदल्न सक्छ विश्वव्यापी वित्तीय व्यवस्था

युक्रेन र गाजामा युद्ध चर्किरहेका वेला विश्वव्यापी वित्तीय संस्था खोल्ने प्रस्तावलाई कम आकलन गर्नुहुँदैन

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

यान्जिनमा सम्पन्न ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)’को २५औँ शिखर सम्मेलनमा, चिनियाँ राष्ट्रपति सी जिनपिङले सदस्य राष्ट्रसामु एससिओ विकास बैंकको स्थापनालाई तीव्र बनाउन आग्रह गरे । प्रस्ताव एसियाको वित्तीय परिदृश्यमा एक महत्वपूर्ण मोड साबित हुन सक्छ । एससिओ सम्मेलनसम्बन्धी प्रायः समाचार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत हाई प्रोफाइल नेताको उपस्थितिमा केन्द्रित रह्यो । सीको प्रस्तावले यस एससिओ सदस्य राष्ट्रहरूलाई वित्तीय खेलाडीमा रुपान्तरण गर्ने अवसर हुन सक्छ ।

शीतयुद्धकालीन मानसिकता, प्रतिद्वन्द्वी समूह र धम्कीलाई अस्वीकार गर्न समूहलाई आह्वान गरे सीले एससिओका सदस्य राष्ट्रहरूलाई आगामी तीन वर्षमा १.४ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने वाचा गरे । ऋणलाई चिनियाँ दान मात्र नभई अमेरिकी दबाबका सामु एससिओले कम जोखिमपूर्ण वित्तीय उपकरण विकास गरिरहेको संकेतको रूपमा पनि हेर्न सकिन्छ । 

एससिओ विकास बैंकको प्रसतावमा ब्रिक्स समूहको ‘न्यु डेभलपमेन्ट बैंक’ प्रतिध्वनि हुन सक्छ । तथापि, यसले क्षेत्रीयस्तरमा बढी ध्यान दिनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष वा विश्व बैंकजस्ता पश्चिमको प्रभुत्व भएका संस्थाभन्दा भिन्न रहने यस्तो बैंकले सर्तविना क्रेडिट, पूर्वाधार कोष र विपत् सहायता प्रदान गर्न सक्छ । रुस र इरानलगायत पश्चिमी प्रतिबन्धको सामना गरिरहेका देशका लागि, यो संयन्त्रले वित्तीय जीवनरक्षाको काम गर्न सक्छ । 

इरानका लागि, समय थप महत्वपूर्ण छ । सेप्टेम्बरको अन्त्यसम्ममा सन् २०१५ को आणविक सम्झौताअन्तर्गत इरानका निलम्बित प्रतिबन्धहरू पुनस्र्थापित हुन सक्छ । यसले फेरि अन्तर्राष्ट्रिय वित्तसँग इरानको विच्छेद हुनेछ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले तियान्जिनमा लामो टिप्पणी गरेनन् । तर, इरानमाथि पुनः प्रतिबन्ध लागू भएपछि एससिओ वित्तीय संरचनासँगको एकीकरण तेहरानका लागि अत्यावक हुनेछ । आर्थिक प्रतिबन्धहरूले इरानको ऊर्जा निर्यात मात्र नभई बैंकिङ, ढुवानी बीमा र विश्वव्यापी भुक्तानी प्रणालीमाथिको पहुँचलाई पनि प्रभावित बनाउने सम्भावना छ । यसले इरानको पहिले नै क्षतिग्रस्त अर्थतन्त्रलाई थप असर पुर्याउनेछ ।

एससिओ बैंक केवल एक वित्तीय उपकरण मात्र हुनेछैन, इरानजस्ता देशका लागि यो एक राजनीतिक कवच पनि हुनेछ । यसअन्तर्गत दिइने ऋणले तेहरानलाई देशभित्र शक्ति प्रदर्शन गर्न र बाह्य प्रतिबन्धले आफूलाई झुकाउन नसक्ने सन्देश प्रवाह गर्न सघाउनेछ ।

एससिओ विकास बैंक निर्माणको राजनीतिक आयाम पनि कम महत्वपूर्ण छैन । एससिओमा इरानको प्रवेशलाई तेहरानमा रणनीतिक विजयको रूपमा प्रस्तुत गरिएको छ । अमेरिका र युरोपको नयाँ दबाबको बाबजुद, सो देशले पूर्वमा सहयोगीहरू बाकी रहेको र उनीहरूसँग सहयोग लिन सकिने संकेत गरेको छ । एससिओ बैंक केवल एक वित्तीय उपकरण मात्र हुनेछैन, इरानजस्ता देशका लागि यो एक राजनीतिक कवच पनि हुनेछ । यस अन्तर्गत दिइने ऋणले तेहरानलाई देशभित्र शक्ति प्रदर्शन गर्न र बाह्य प्रतिबन्धले आफूलाई झुकाउन नसक्ने सन्देशप्रवाह गर्न सघाउनेछ ।

इरानमा पनि ठुलो लगानी गर्ने दाउमा चीन छ । बेइजिङले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)’ मार्फत इरानको ऊर्जा र पूर्वाधार क्षेत्रमा ठुलो लगानी गरेको छ । यदि पश्चिमी प्रतिबन्ध कडा पारिए भने चिनियाँ कम्पनीहरूले वित्तीय र कानुनी जोखिमको सामना गर्न सक्छन् । एक समर्पित एससिओ बैंकले चीन–इरान सहयोगलाई एकपक्षीय अमेरिकी कारबाहीबाट संरक्षण प्रदान गर्न सक्छ । अर्थात चिनियाँ लगानी परियोजना ‘डलर प्रणाली’भन्दा बाहिरको वित्तीय च्यानल मार्फत अगाडि बढ्न सक्षम हुनेछ । 

एससिओ बैंकको प्रभाव इरानमा मात्र सीमित हुनेछैन । सन् २०२२ देखि पश्चिमी प्रतिबन्ध सामना गरिरहेको रुसले पहिले नै चीनसँग वित्तीय सहयोगलाई गहिरो बनाइसकेको छ । यसका लागि रुबल र युआनबिच हुने व्यापार व्यवस्थित भएको छ । मध्य–एसियाली क्षेत्रका देशहरू पश्चिमी प्रतिबन्धबाट बाहिर रहे पनि पश्चिमी पुँजीमाथिको उच्च निर्भरताबाट सतर्क देखिन्छन् । उनीहरूले विविधीकरणलाई रणनीतिक रूपमा हेर्छन् । भारत एससिओको सहभागिताप्रति सतर्कतापूर्वक कदम चाले पनि यसलाई पश्चिमी विकल्पको पूरकको रूपमा तयार पारियो भने एससिओ बैंकले उसलाई पूर्वाधारमाथिको लगानीका लागि अतिरिक्त स्रोत प्रदान गर्न सक्छ ।

 पुटिनले यो पहललाई स्वागत गर्दै मस्को र बेइजिङ ‘विभेदकारी प्रतिबन्धविरुद्ध’ एकसाथ उभिने प्रतिक्रिया दिए । साथै उनले यसबाट विश्वव्यापी वित्तीय संस्थाको सुधारमा दबाब पर्ने कुरामा पनि जोड दिए । उनले यसक्रममा एससिओका सदस्यबिच व्यापारका लागि राष्ट्रिय मुद्राको बढ्दो प्रयोगमाथि प्रकाश पार्न बिर्सिएनन् । तैपनि, यसको टिकाउ पक्षमा उठेका प्रश्न सम्बोधन गर्न बाँकी छ । बहुपक्षीय बैंक स्थापना गर्न पुँजी योगदान, शासन र मुद्रा संयन्त्रमा सहमति आवश्यक पर्छ । त्यसोभए, नयाँ बन्ने बैंकमा युआनको प्रभुत्व हुन्छ वा सदस्य राष्ट्रको मुद्राहरूको ‘बास्केट’ बनाइनेछ ? बैंकले जोखिम कसरी व्यवस्थापन गर्नेछ ? यो कुरा विशेषतः प्रतिबन्धित अर्थतन्त्रहरूलाई ऋण दिँदा स्वाभाविक रूपमा उठ्नेछ । यी प्राविधिक मुद्दाले बैंक स्थापनातर्फको प्रगतिमा केही ढिलो गर्न सक्छन् । 

तैपनि, प्रस्तावको महत्वलाई पूर्णतः खारेज गर्नु अपरिपक्व हुनेछ । तियान्जिन शिखर सम्मेलन इतिहासको सबैभन्दा ठुलो एससिओ भेला थियो । यसमा समूहका सदस्य राष्ट्रहरू मात्र होइन, इजिप्टजस्ता पर्यवेक्षक र संवाद साझेदार पनि उपस्थित थिए । युक्रेन र गाजामा युद्ध चलिरहेको र डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी भन्सार युद्ध चर्किरहेका वेला वित्तीय संस्था खोल्ने प्रस्तावलाई कम आकलन गर्नुहुँदैन । 

नयाँ बहुपक्षीय ऋणदाता(बैंक)को उदयले लगानी प्रवाहलाई पुनः आकार दिन सक्छ । एससिओ बैंकले अहिले नै आइएमएफ वा विश्व बैंकलाई टक्कर नदेला । तर, यसले विश्वव्यापी वित्तीय क्षेत्रलाई बिस्तारै पुनः आकार दिँदै गैरपश्चिमी संस्थाहरूको प्रभाव बढाउन सघाउनेछ । सीले यस पहललाई निष्पक्ष विश्वव्यापी शासन प्रवद्र्धनको एक हिस्साको रूपमा प्रस्तुत गरे । शिखर सम्मेलनको छेउमा, सीले मोदीलाई तनावका बाबजुद एसियाली सहयोगलाई अगाडि बढाउन दुई देश एकसाथ आउनुपर्ने बताए । 

ग्लोबल साउथअन्तर्गतका देशका लागि एससिओ बैंकले पूर्वाधार लगानीमा थप समान पहुँच प्रदान गर्न सक्छ । यसको सफलता राजनीतिक प्रतीकात्मकतालाई वित्तीय क्षमतामा अनुवाद गर्ने कुरामा निर्भर हुन्छ । यदि यो सपना साकार भयो भने, एससिओ विकास बैंक केवल अर्को बहुपक्षीय ऋणदाता मात्र हुनेछैन । इरानका लागि, यसको अर्थ प्रतिबन्धबिच बाँच्ने अवसर हुनेछ । चीनका लागि, यसले रणनीतिक लगानीको सुरक्षा गर्न सक्छ । रुस र मध्य एसियाका लागि, यसले विकल्प विविधीकरण गर्न सघाउन सक्छ । र, अन्तर्राष्ट्रिय प्रणालीका लागि, यो वित्तीय बहुध्रुवीयतातर्फ अर्को कदम हुनेछ । यसैले भविष्यमा तियान्जिन शिखर सम्मेलन राजनीतिक भेटघाट र बयानबाजीभन्दा यही विकास बैंकको प्रस्तावका लागि बढी सम्झिने पनि हुन सक्छ । विश्वव्यापी वित्तीय व्यवस्थाका लागि भविष्यमा हुन सक्ने प्रतिस्पर्धामा, एससिओ विकास बैंक डलरको प्रभुत्वबाट स्वतन्त्रतातर्फ एसियाको सबैभन्दा महत्वाकांक्षी कदम साबित हुन सक्छ । 
साउथ चाइना मर्निङ पोस्टबाट 
 

सुझावित समाचार