ट्रम्पले ढोका बन्द गर्दा भारतका यस्ता विकल्प

भारी शुल्क लगाउने अमेरिकाको पछिल्लो कदमले भारतको आधाभन्दा बढी निर्यातलाई पार्नेछ असर

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई धम्की दिँदै आएको ५० प्रतिशत शुल्क गत सातादेखि लागू भयो । यी शुल्कमध्ये २५ प्रतिशत पारस्परिक थिए भने थप २५ प्रतिशत भारतले रुसी तेल खरिद गरेकोमा लगाइएको जरिवाना शुल्क थियो । भारतलाई वासिङटनले युक्रेनमा रुसी युद्धलाई सहयोग गरेको आरोप पनि लगाएको छ । अमेरिकाको पछिल्लो कदमले भारतको आधाभन्दा बढी निर्यातलाई खतरामा पार्छ । 

भारतले सम्भावित बदलाको संकेत गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मेक इन इन्डिया’ पहलका लागि बारम्बार आह्वान गर्दै आएका छन् । अमेरिकी शुल्कले २० लाख रोजगारी जोखिममा पार्न सक्ने विश्लेषकले चेतावनी दिएका छन् । किनभने, यी कर प्रायः श्रम क्षेत्रहरू– कपडा, रत्न, गहनालगायतमा लागू हुन्छन्, यद्यपि औषधि र इलेक्ट्रोनिक्सलाई छुट दिइएको छ । करले भारतीय सामानलाई कम प्रतिस्पर्धी मात्र बनाउनेछैन, बरु भियतनाम, बंगलादेश वा चीनजस्ता अन्य निर्यातकर्तालाई फाइदा पुर्याउनेछन् । 

 युरेसियामा अवसर
औद्योगिक निकायले भारतको निर्यातको विविधीकरणका लागि आह्वान गरेका छन् । यसले भारतलाई परम्परागत रूपमा केन्द्रित नभएका वा बृहत् रूपमा विचार नगरिएका बजारसहित अन्य बजारतर्फ हेर्न उत्प्रेरित गरेको छ । विडम्बनाको कुरा, तीमध्ये प्रमुख बजार रुसी नेतृत्वमा रहेको युरेसियन आर्थिक संघ (इएइयू) हो । यस समूहमा रुस, बेलारुस, आर्मेनिया, किर्गिस्तान र पावरहाउस कजाकिस्तान छन् । भारतले केही समयदेखि ब्लकसँग स्वतन्त्र व्यापार सम्झौता (एफटिए) वार्ता गरिरहेको छ ।

गत साता भारतीय विदेशमन्त्री एस जयशंकरले मस्कोको भ्रमण गरे, जहाँ उनले भारत–रुस अन्तर–सरकारी व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग आयोग (आइआरआइजिसी–टेक) को २६औँ चरणको सहअध्यक्षता गरे । आफ्नो उद्घाटन भाषणमा उनले भने, ‘आज बैठक चलिरहँदा मलाई एजेन्डाका केही प्रमुख विशेषता हाम्रा अगाडि राख्न अनुमति दिनुहोस् ।’ उनले शुल्क र गैरशुल्क व्यापार अवरोधलाई सम्बोधन गर्ने, रसदमा अवरोध हटाउने, अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात करिडोर, उत्तरी समुद्री मार्ग र चेन्नई–भ्लादिभोस्तोक करिडोरमार्फत कनेक्टिभिटीलाई प्रवद्र्धन गर्ने विषयमा चर्चा गरे ।

भ्रमणका क्रममा उनले भारत र (इएइयू)ले एफटिएका लागि औपचारिक रूपमा वार्ता सुरु गर्न टम्स अफ रिफ्रेन्स (टिओआर) मा हस्ताक्षर गरे । युरोपेली संघलाई मस्कोको प्रतिक्रियाको रूपमा २०१५ मा गठन गरिएको यो ब्लकको संयुक्त जिडिपी ४६.८ ट्रिलियन छ र यसले १८ करोड मानिसको प्रतिनिधित्व गर्छ । भारत र ब्लकबिचको व्यापार २०२४ मा ४६९ अर्ब पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा सात प्रतिशतले वृद्धि हो ।

 रुसी बजारमा निर्यात
इएइयूमा भारतको प्राथमिक आर्थिक साझेदार रुस हो, जुन हाल भारतको चौथो ठुलो व्यापारिक साझेदार हो । मुख्यतया नयाँदिल्लीले रुसी तेल खरिद गरेका कारण गत वर्ष दुई देशबिचको व्यापार ६० अर्ब डलर नाघेको छ । त्यस्तै, रुसबाट ५६ अर्ब डलरबराबरको आयात भएको थियो । भारतले यो विशाल व्यापार असन्तुलनलाई सम्बोधन गर्न खोज्दा अवसर खुलेका छन् । युक्रेनमा भएको युद्धले अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण रुस आत्मनिर्भर हुन बाध्य छ । भारतको ग्लोबल ट्रेड एन्ड टेक्नोलोजी काउन्सिलका संस्थापक गौरव गुप्ताका अनुसार नयाँदिल्लीले मेसिनरीदेखि क्रोकरीसम्मका सामान निर्यात गर्न सक्छ, जुन रुसी बजारले खोजेको छ । यसबाहेक, भारतमा रुसलाई जम्मा भइरहेको अर्बौं रुपैयाँले पनि मस्कोलाई निर्यातलाई प्रोत्साहित गर्न बाध्यता पार्छ । यसले भारतको विदेशी मुद्रा बचत गर्दै भारतीय रुपैयाँलाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ । ब्लकसँगको एफटिएले भारतको निर्यात बजारलाई विविधीकरण गर्न मद्दत गर्नेछ, किनकि रुसमा जाने सामानले ब्लकका अन्य सदस्य–राष्ट्रमा आफ्नो मार्ग फेला पार्न सक्छन् ।

 खाडी सहयोग परिषदमा अवसर
भारतले ४० वटा अन्य बजारमा ध्यान केन्द्रित गरिरहेका वेला ठुलो महत्व राख्ने अन्य दुई ब्लक हुन् जिसिसी (खाडी सहयोग परिषद्) र आसियन (दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ) । जिसिसीसँग परम्परागत रूपमा श्रम, बसाइँसराइ र ऊर्जा सुरक्षामा ध्यान केन्द्रित गरिएको छ । बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र युएई सदस्य रहेको ब्लकसँग अहिले सम्पत्ति कोषहरू छन्, जसले अनुमानित ४.९ ट्रिलियनदेखि पाँच ट्रिलियन डलर सम्पत्ति व्यवस्थापन गर्दछ, जुन २०३० सम्ममा ४७ ट्रिलियनभन्दा बढी हुने अपेक्षा गरिएको छ र विश्वव्यापी तेल भण्डारको ३० प्रतिशत हो । यो प्राकृतिक ग्यासको प्रमुख निर्यातकर्ता पनि हो ।

जिसिसी भारतका लागि एक शीर्ष व्यापारिक समूह हो । २०२३–२४ मा यससँगको द्विपक्षीय व्यापार १६१ अर्ब डलर नाघेको छ, जसमा शीर्ष व्यापारिक साझेदार युएई र साउदी अरेबिया हुन् । खाडी सहयोग परिषद् अर्थात जिसिसी भारतको ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण छ, किनकि यसले कच्चा तेलको मागको ६० प्रतिशतभन्दा बढी पूरा गर्छ । जिसिसी अझै पनि भारतको ऊर्जा आपूर्तिको प्रमुख स्रोत हो । भारतले आफ्नो प्राकृतिक ग्यास आवश्यकताको ७० प्रतिशत यहाँबाट आयात गर्छ । यसबाहेक, लगभग ९० लाख भारतीय जिसिसीअन्तर्गतका राज्यमा बसोवास गर्छन् र उनीहरू विदेशी रेमिट्यान्सका प्रमुख स्रोत हुन् । यो रेमिट्यान्स वार्षिक ५० अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ ।

 बृहत् आर्थिक एकता
जिसिसीसँग स्वतन्त्र व्यापार सम्झौता (एफटिए)ले ठुलो आर्थिक एकीकरणलाई सक्षम बनाउनेछ, व्यापार अवरोध कम गर्नेछ, असीमित शुल्कलाई सम्बोधन गर्नेछ र श्रम तथा पुँजीको सीमापार ठुलो आवागमनलाई अनुमति दिनेछ । भारतसँग पहिले नै जिसिसीसँग आर्थिक सहयोगको ढाँचा सम्झौता छ, जसले एफटिएका लागि वार्ता सुरु गरेको थियो । एफटिएका लागि औपचारिक वार्ता २०२२ मा पुनः सुरु गरिएको थियो । यस वर्षको जनवरीमा जिसिसीले फेरि वर्षभित्र औपचारिक छलफल सुरु गर्ने मनसाय व्यक्त ग¥यो । भारतले अब वार्ताको प्रारम्भिक निष्कर्षका लागि गम्भीरतापूर्वक जोड दिनुपर्छ ।

भारतसँग पहिले नै युएईसँग सिइपिए (व्यापक आर्थिक साझेदारी सम्झौता) पनि छ, जसले दुई देशबिचको व्यापार दोब्बर बनाएको छ र तिनीहरूबिच व्यापार हुने ८० प्रतिशत सामानमा शुल्क अवरोध घटाएको छ । भारतले ओमान र कतारसँग यस्तै खालको वार्ता गरिरहेको छ र ब्लकसँग डिजिटल र वित्तीय एकीकरण पनि खोजिरहेको छ । उदाहरणका लागि, भारतको युपिआई र रुपे कार्ड प्रणाली युएईमा कार्यरत छन् र ओमानको डिजिटल भुक्तानी प्लेटफर्मसँग एकीकृत भइरहेका छन् । यसले यात्रा र पर्यटनको सहजता साथै खुद्रा व्यापारमा पनि वृद्धि गर्छ, जुन मैले गत वर्ष युएईमा अनुभव गरेका थिए । अन्ततः भारतसँगको एफटिएले जिसिसीलाई आफ्नो अर्थतन्त्रलाई पनि विविधीकरण गर्न सक्षम बनाउनेछ । 
– एनडिटिभीबाट

सुझावित समाचार