सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति कांग्रेस नेताहरूको प्रश्न

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति कांग्रेस नेताहरूको प्रश्न

फाइल तस्विर

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति प्रमुख सत्तासाझेदार कांग्रेसका नेताहरूले प्रश्न उठाएका छन् । कानुनी प्रबन्ध नगरी निर्देशिकाको भरमा सामाजिक सञ्जाल बन्द गराएर नागरिकको बोल्ने र लेख्ने प्लाटफर्ममा सरकारले हस्तक्षेप गरेको उनीहरूको दाबी छ । आमजनतासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषयमा निर्णय हुँदासमेत पार्टीमा छलफलसमेत नभएकोमा नेताहरूले असन्तुष्टि जनाएका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूले हठात् सामाजिक सञ्जाल बन्द हुँदा नागरिकले दुःख पाएको धारणा राखेका थिए । महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्दको विषय उठान गरेका थिए । त्यसपछि सहमहामन्त्रीहरू महेन्द्र यादव र महालक्ष्मी उपाध्याय, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलगायतले धारणा राखेका थिए । उनीहरूले निर्देशिकाको भरमा सामाजिक सञ्जाल बन्द गर्न नहुनेमा जोड दिए । व्यावहारिक पाटो पनि हेर्नुपर्ने उनीहरूको सुझाव छ । अदालतले कानुन बनाएर नियमन गर्न भनेको विषय पनि नेताहरूले प्रस्ट पारेका छन् । 

महामन्त्री थापाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा पनि सत्तारूढ दल कांग्रेसमा छलफल नभएकोमा असन्तुष्टि जनाए । सरकारले आफूखुसी गर्ने निर्णयको भारी कांग्रेसले बोक्न नहुनेमा उनले जोड दिए । ‘सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा सरकारमा सहभागी हाम्रो दलमा किन छलफल गरिएन ? अहिले सामाजिक सञ्जाल बन्द गरिनु जायज हो ? यसले नागरिकमा कस्तो धारणा बन्दै छ भनेर हामीले हेर्नुपर्दैन ? सरकारले गर्ने जस्तोसुकै निर्णय कांग्रेसले बोकेर हिड्नुपर्ने हो ? थापाको प्रश्न उद्धृत गर्दै एक नेताले भने । 

सहमहामन्त्री उपाध्यायले सामाजिक सञ्जाल बन्द गराउने विषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएर बोल्नुपर्ने विषयमा छलफल भएको बताइन् । नेता केसीले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएकोमा आम रूपमा असन्तुष्टि रहेको भन्दै गलत कुरामा कांग्रेसले हस्तक्षेप गर्नुपर्ने बताए । पूर्वउपसभापति श्रेष्ठले कानुन बनाएर मात्रै सामाजिक सञ्जाल दर्ता प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिँदै कानुन नबन्दासम्म सामाजिक सञ्जाल पूर्ववत् अवस्थामै चल्न दिनुपर्ने बताए । नेता निधिले कानुन नबनेसम्म सामाजिक सञ्जाल बन्द गर्न नहुनेमा जोड दिँदै पुनः सूचीकृतका लागि म्याद थप्नुपर्ने बताए । 

मन्त्रीहरूसहित नेताहरूलाई राखेर थप छलफल गर्ने देउवाको प्रतिबद्धता
पदाधिकारीसहितका नेताहरूले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरेपछि सभापति देउवाले मन्त्रीहरूसहित नेताहरूलाई राखेर थप छलफल गर्ने बताएका थिए । उनले सामाजिक सञ्जाल नियमन गर्ने कुरा भएको बताए । ‘सामाजिक सञ्जाल नियमन गर्ने कुरा भएको थियो । यस विषयमा मन्त्रीसहित नेताहरूलाई राखेर छिट्टै छलफल गर्छु,’ देउवाको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘सभापतिले पनि प्रेस तथा अभिव्यक्तिको पक्षमा म पनि छु । त्यसको विरुद्धमा जान सकिँदैन । प्रधानमन्त्रीसँग पनि कुरा गर्छु भन्नुभएको छ ।’ उनका अनुसार केही दिनमै मन्त्रीहरूसहित फेरि बैठक बस्नेछ ।

कांग्रेस बैठकमा सहभागी एक नेताका अनुसार सुरुमा देउवा सामाजिक सञ्जाल नियमन कि नियन्त्रण भन्नेमा ‘कन्फ्युजन’मा थिए । उनले ‘अदालतको आदेश कार्यान्वयन गरौँ’ भनेका थिए । ‘अदालतले गरेको आदेशलाई कार्यान्वयन गरौँ न, सूचीकृत गर्न केको आपत्ति,’ देउवाको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘नेताहरूले प्रस्ट कुरा राखेपछि सभापतिले मन्त्री र प्रधानमन्त्रीसँग पनि छलफल गर्ने बताउनुभयो ।’ आइतबारको बैठकमा कार्यसम्पादन समितिका सदस्य उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक सहभागी थिएनन् । 

सुझावित समाचार