‘जबज’कै जगमा नेपाली विशेषताको समाजवाद : प्रधानमन्त्री ओली

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले)ले मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज)को जगमा नेपाली विशेषताको समाजवाद अघि सारेको छ।

दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै नेपाली विशेषताको समाजवादका विषयमा प्रस्ट्याएका हुन्।

ओलीले नेपाली विशेषताको समाजवाद जबजको विकल्प नभई जबजको जगमा नै अघि बढ्ने बताए। उनले जबजको जगमा नेपाली विशेषताको समाजवादमा पुग्ने बाटो ‘समृद्ध नेपाल, सुखी नेपाली गन्तव्य’ हुने जिकिर गरे।

नेपाली समाजको वर्ग विश्लेषण गर्दै अध्यक्षले भने, ‘नेपाली विशेषताको समाजवाद जबजको जगमा अगाडि बढ्न भनिएको हो। त्यसका लागि समृद्ध नेपाल, सुखी नेपालीलाई गन्तव्यका रूपमा अघि सारिएको हो। यसको अर्थ मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जबजलाई छोडेको होइन, सिर्जनात्मक प्रयोग गरिएको हो।’

समृद्धिको ‘प्यारामिटर’ सुशासन, सुरक्षा, मानव जातिलाई सम्मान, परिपाटीको विधि, जैविक र मानवीय सहजता हुने अध्यक्ष ओलीले बताए। पार्टीले गहिराइमा पुगेर समाजको विश्लेषण, व्याख्या गरेको औँल्याउँदै विचारमा समयावधि अनुसार अध्यावधिक गरेको बताए। ‘कार्यनीति, भविष्यका स्पष्ट भिजन राखेर मात्रै अघि बढ्छौँ। हामी देश, काल, परिस्थितिअनुसार सिद्धान्तका आधारमा जान्छौँ। नेतृत्व विज्ञान हो। कार्ल मार्क्सवादी सिद्धान्तलाई रुसमा लेनिन, चीनमा माओ, भियतनाममा होचिमिन्ह, कोरियामा किमइलसुङले आफ्नै मौलिक सिर्जनात्मक रूपमा व्याख्या र प्रयोग गरे। हामीले पनि परिपक्व र मौलिक ढंगले समाजवादी यात्रामा अघि बढ्ने कार्यक्रम अघि सारेका छौँ,’ ओलीले भने।

संविधान निर्माण हुन २३ वर्षअघि एमालेले जबजको सिद्धान्त प्रतिवादन गरेको अध्यक्ष ओलीले बताए। ‘२३ वर्षअघि जबजको सिद्धान्त प्रतिपादन गरेर वर्तमान संविधानलाई निर्देशन गरिको हो। संविधानमा समाजवादउन्मुख छ भन्ने होइन, हामीले लेखेका हौँ,’ उनले भने, ‘संविधान संशोधन आवश्यक भएकाले संशोधन गर्छौं भनिसकेका छौँ। अब छिट्टै एउटा विज्ञसमूह बनाएर संशोधनको खाका तय गर्छौैं। यो समय विकास क्रमको अध्यावधिक हो। पहिलेजस्तो हुँदैन, अबको संविधान जनताको हितमा केन्द्रित हुनेछ।’

सुझावित समाचार