न्वागी पर्वकाे अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको शुभकामना

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्व २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री बानियाँले आइतबार एक शुभकामना सन्देश जारी गर्दै न्वागी पर्वले समाजमा एकता, भाइचाराको भावना जागृत गराउने विश्वास व्यक्त गरेका छन् ।

चेपाङ समुदायको सांस्कृतिक, सामाजिक र धार्मिक महत्त्व बोकेको यस पर्वले राष्ट्रिय एकता र सदभावलाई अझ मजबुत बनाउन मद्दत पुग्ने शुभकामना सन्देशमा उल्लेख छ ।

उनको भनाइमा नेपाल विभिन्न जातजाति, भाषा, संस्कृति र परम्पराले समृद्ध देश भएकाले यस्ता पर्वहरूले विविधताभित्र एकताको सन्देश दिने गर्दछ । यस्तै, न्वाँगी पर्वले कृषिसँग जोडिएको मौलिक संस्कृति संरक्षण र समुदायबिच सदभाव अभिवृद्धि गर्ने उनको विश्वास छ ।

मुख्यमन्त्री बानियाँले चेपाङ समुदायले यस पर्वलाई ऐतिहासिक र सांस्कृतिक पहिचानका रूपमा मनाउँदै आएको उल्लेख गर्दै यसले राष्ट्रिय पहिचान र सामाजिक सदभावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । साथै उनले न्वागी पर्वले समाजमा नयाँ ऊर्जा, प्रेरणा र उत्साह जगाई देशलाई अगाडि बढ्ने बाटोमा प्रोत्साहन गर्ने बताएका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री बानियाँले देश र प्रदेशको समृद्धि, शान्ति, एकता र प्रगतिका लागि सबैलाई शुभेच्छा समेत व्यक्त गरेका छन् ।

बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात् छोनाम पर्वको अवसरमा आज प्रदेशका तीन जिल्ला मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिइएको छ ।

See More On

सुझावित समाचार