मन्त्री यादवलाई प्रश्न गर्दा पक्राउ परेकी किरणको स्वास्थ्यमा समस्या, १६ घण्टामा दुईपटक अस्पताल भर्ना

बिहिबार, १९ भदौ, २०८२
डिजिटल संस्करण

खानेपानीमन्त्री प्रदीप यादवको पदीय जिम्मेवारीप्रति प्रश्न उठाउँदा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या देखिन थालेको छ । गत शनिबारदेखि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेकी साहको स्वास्थ्य बिग्रन थालेपछि उनलाई पछिल्ला १६ घण्टामा दुईपटक वीरगन्जस्थित नारायणी अस्पताल पुर्याइएको छ ।

प्रहरी हिरासतमा रहेकी उनको शरीर कमजोर बन्नुका साथै पेट दुख्ने र ग्यास्ट्रिकको समस्या भएको हो । हैजाले वीरगन्ज आक्रान्त बनेका वेला परिवारका बिरामी सदस्य कुरेर अस्पतालमा रहेकै समयमा उनी प्रक्राउ परेकी थिइन् ।

शरीर कमजोर हुनुका साथै पेट दुख्ने र ग्यास्ट्रिकको समस्या देखिएपछि मंगलबार राति ८ बजे र बुधबार बिहान ११ बजे अस्पताल पुर्याइएको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले बताए । ‘स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगेका हौँ । चिकित्सकले स्वास्थ्य अवस्था ठिक भएको भनेपछि पुन: हिरासतमा ल्याएका छौँ,’ उनले भने ।

नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा. अविनाश श्रीवास्तवका अनुसार मंगलबार राति साहलाई शारीरिक कमजोरीका कारण ल्याइएको थियो । रक्तचाप जाँच गरी स्लाइन दिएपछि एक घण्टामा डिस्चार्ज गरिएको उनले बताए । बुधबार बिहान भने ग्यास्ट्रिक र पेट दुख्ने समस्या देखिएपछि फेरि ल्याइएको थियो ।

‘शारीरिक कमजोरी भएको भन्दै अस्पतालमा ल्याइएको थियो । ब्लडप्रेसर चेक गरेर स्लाइनपानी दिएपछि एक घण्टामा पठाइएको हो,’ उनले भने,  ‘बुधबार बिहान ११ बजे फेरि ल्याइएको थियो । अल्ट्रासाउन्ड गरेर हेर्दा समस्या नदेखिएपछि तीन घण्टामा डिस्चार्ज गरिएको हो ।’ उपचारको क्रममा किरणले भोक नलागेकाले भोक लाग्ने खालको औषधि लेखिदिन आग्रह गरेपछि सोहीअनुसार औषधि लेखिएको उनको भनाइ छ ।

मन्त्री यादवले किरणविरुद्ध आफ्नो सचिवालयमार्फत उजुरी दिन लगाएपछि गत शनिबार पक्राउ परेकी थिइन् । कलैया उपमहानगरपालिका– २६, सिस्वा महेशपुरकी किरणविरुद्ध प्रहरीले तीन कसुरमा अनुसन्धान गरिरहेको छ । मन्त्री यादवले मंगलबार उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयअगाडि कार्यकर्ता उतारेर प्रदर्शन नै गराएका थिए ।

यसअघि आइतबार थप भएको तीन दिनको म्याद सकिएपछि मंगलबार जिल्ला अदालतले तीन दिन म्याद थपेको थियो । उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुर, संघीय सांसदलाई धम्की दिन नहुने कसुर र झुटा कुराको अफवाह फैलाएको कसुर मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको उनले बताए ।

सुझावित समाचार