ओली सरकारको वैधतासम्बन्धी रिटलाई अग्राधिकारमा राख्दै पूर्ण सुनुवाइमा पठाउन आदेश

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको वैधतामाथि उठेको प्रश्नसम्बन्धी रिट निवेदनमा अब पूर्ण सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मंगलबार उक्त रिटलाई अग्राधिकारमा राख्दै पूर्ण सुनुवाइमा पठाउन आदेश दिएको हो । 

रिट निवेदकको तर्फबाट इजलासमा अधिवक्ता यज्ञमणि न्यौपानेले ओली नेतृत्वको सरकार गैरकानुनी भइसकेकाले अन्तरिम आदेश जारी गर्न माग राखेका थिए । त्यसपछि न्यायाधीश श्रेष्ठले सबै कागजात झिकाएर पूर्ण सुनुवाइमा पठाउनु उचित हुने राय राखेका हुन् । यस्तै, इजलासले अदालतले ओली नेतृत्वको सरकार गठन गर्दा २८ असार ०८१ मा राष्ट्रपति कार्यालयमा विभिन्न राजनीतिक दलहरूले बुझाएको समर्थन कागजपत्र, ५ साउन ०८१ मा संसद्मा विश्वासको मत दिँदा दलहरूले लगाएको ह्विप, सांसदहरूको विवरण र प्रधानमन्त्रीलाई समर्थन गर्ने दलको विवरण झिकाउन आदेश गरेको छ । 

सरकारलाई समर्थन जनाउँदै आएका जसपा नेपाल (पाँच सांसद) र नागरिक उन्मुक्ति पार्टी (चार सांसद) ले समर्थन फिर्ता लिएको एक महिनासम्म पनि संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै अधिवक्ता वीरेन्द्र केसीले सरकारको वैधतामा प्रश्न उठाएर रिट दायर गरेका थिए । समर्थन गर्ने दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने विषयमा केही बोलेका छैनन् । 

See More On

सुझावित समाचार