बागमती प्रदेश सभामा चिट्ठा विधेयक पुनः रोकिएको छ। सत्तारूढ दल एमालेको असहमतिपछि मंगलबार बसेको बैठकको कार्यसूचीबाटै उक्त विधेयक हटाइएको हो।
प्रदेश सभाले प्रदेशस्तरीय चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने तयारी गरेको थियो। तर, सत्तारूढ दलहरूबिच सहमति नजुट्दा कार्यसूचीबाट विधेयक हटाउनुपरेको प्रदेश सभा सचिवालयले जनाएको छ।
यसअघि भदौ १५ गतेको बैठकमा प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदन समितिका सभापति छिरिङ दोर्जे लामाले सभामा पेस गरेका थिए। भदौ १६ गतेको बैठकमा प्रतिवेदनमाथि छलफल सुरु भए पनि दलहरूबिच सहमति नजुटेकाले छलफल स्थगित भएको थियो।
विगतदेखि नै विधेयकप्रति असन्तुष्टि जनाउँदै आएको एमालेले प्रतिवेदनमाथि छलफलका क्रममा पनि असहमति प्रकट गरेको थियो। समस्या समाधानका लागि गरिएको सहजीकरण प्रक्रियामा समेत एमाले सकारात्मक नरहेको सचिवालयका एक पदाधिकारीले बताए।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले समितिको प्रतिवेदन अझै अध्ययन गर्न बाँकी रहेको भन्दै केही समय लिने गरी विधेयक रोकिएको बताए। उनका अनुसार प्रतिवेदनमा केही विषय सम्बोधन भए पनि थप छलफल आवश्यक छ।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सत्तारूढ दलहरूबिच कुरा नमिलेकै कारण विधेयक अघि नबढेको बताए। उनका अनुसार प्रतिपक्ष दल छलफलमा सहयोगी भूमिकामा रहे पनि कांग्रेस र एमालेबिच सहमति नजुटेकाले विधेयक रोकिएको हो।
सत्तारूढ नेपाली कांग्रेस भने विधेयक अघि बढाउन सकारात्मक देखिएको छ। यद्यपि, एमाले तयार नहुँदा विधेयक पुनः रोकिएको ढकालले स्पष्ट पारे। मंगलबारको बैठकमा शून्य समय र समितिका सदस्यहरूको हेरफेरसम्बन्धी कार्यसूची मात्र अघि बढाइएको थियो।