राष्ट्रिय सभाकी सांसद डा. अञ्जान शाक्य संसदीय सुनुवाइ संयुक्त समितिको सदस्यमा मनोनीत भएकी छिन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभाको बैठकले सदस्य मनोनयनका लागि सहमति जनाएपछि उक्त समितिको सदस्य बनेकी हुन् ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को उपनियम २ बमोजिम उनलाई संसदीय सुनुवाइ संयुक्त समितिमा मनोनयनको प्रस्ताव पेस गरेका थिए।
राष्ट्रिय सभाबाट उक्त समितिमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा थिए। शाक्यसँगै अब संसदीय सुनुवाइ संयुक्त समितिमा राष्ट्रिय सभामा तीनजनाको प्रतिनिधित्व भएको छ।
उक्त समितिमा प्रतिनिधिसभातर्फबाट माओवादीका जनार्दन शर्मा, कांग्रेसका जीवन परियार, रास्वपाका डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर जबरा, नेकपा (एमाले)का महेश बर्तौलालगायत सांसद छन् ।