तिलाठी गाउँपालिकामा एसइईमा सर्वाधिक अंक ल्याएका दुईजना पुरस्कृत हुने

आइतबार, १५ भदौ, २०८२
डिजिटल संस्करण

सप्तरीको तिलाठी गाउँपालिकामा एसइईमा सर्वाधिक अंक ल्याएका दुईजना पुरस्कृत हुने भएका छन्। 

पालिकामा छात्रतर्फ सर्वाधिक अंक ल्याएका जनता माध्यमिक विद्यालय तोपाका ओमनारायण यादव र छात्रातर्फ पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीकी पल्लवी ठाकुरलाई दिने भएको हो। 

अमरनाथ झा मेमोरियल ट्रस्टले श्री पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीका पूर्वप्रधानाध्यापक अमरनाथ झाको स्मृतिमा स्थापना गरेको ५१ हजार राशीको 'अमरनाथ झा स्मृति पुरस्कार' उनीहरूलाई‌ दिने ट्रस्टका प्रमुख कार्यकारी अधिकृत प्रवेशकुमार मिश्रले जानकारी दिए। 

'पूर्वशिक्षक दयाकान्त झाको अध्यक्षतामा पुरस्कार छनोट समिति गठन गरिएको थियो, समितिले यस वर्षको एसइई परीक्षामा गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट अंक ल्याउने यी दुई विद्यार्थीलाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको छ,' कार्यकारी अधिकृत मिश्रले भने, '५१ हजार राशिको स्मृति पुरस्कारलाई बराबर भाग लगाई दुवैजनालाई प्रदान गरिनेछ।' 

पुरस्कार वितरण कार्यक्रम यही भदौ २३ गते सोमबार तिलाठी कोइलाडी गाउँपालिकाको सभाहलमा आयोजना हुने बताइएको छ। 

ट्रस्टका प्रमुख कार्यकारी अधिकृत मिश्रका अनुसार स्मृति पुरस्कारले भावी पुस्तालाई शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्न थप प्रेरणा दिने विश्वास लिइएको बताए।
 

सुझावित समाचार