रोल्पा सहरी खानेपानी उपभोक्ता समितिमा माओवादीको प्यानल नै विजयी

रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा कांग्रेस–एमाले गठबन्धन पराजित

आइतबार, १५ भदौ, २०८२
डिजिटल संस्करण

रोल्पामा खानेपानी निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । जिल्ला सदरमुकाम लिबाङ तथा आसपासका क्षेत्रहरू रेउघा, थलिबाङ, मेबाङलगायतमा खानेपानी पुर्याइरहेको रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको शनिबार राति सम्पन्न मतगणनामा सुमन विक नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको हो ।

कांग्रेस–एमाले गठबन्धनबाट अध्यक्षका उम्मेदवार रहेका रामबहादुर बुढाथोकीलाई ६८ मतको अन्तरमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार रहेका सुमन विकले जित हासिल गरेका हुन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार सुमनले ४०५ मत र निकटतम प्रतिद्वन्द्वी रामबहादुरले ३३७ मत प्राप्त गरेका छन् । जम्मा ९१० जना मतदाता रहेकोमा यस समितिमा ७९२ मत खसेको थियो । जसमा २३ मत बदर भएको निर्वाचन समिति संयोजक अधिवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिए ।

त्यस्तै, माओवादी केन्द्रनिकट प्यानलबाटै उपाध्यक्षमा रेवती आचार्य, महासचिवमा अशोक आचार्य, सचिवमा रूपसरा घर्तीमगर र कोषाध्यक्षमा शिला विक निर्वाचित भएका छन् । सदस्यहरूमा सोही प्यानलका गीता घर्ती, दुर्गाप्रसाद शर्मा, दीपसरा बुढामगर, देवबहादुर कवर, रामी दमाईं र रेशमबहादुर पुन विजयी भएका छन् ।

शनिबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो । शनिबार राति करिब १२ बजे मतगणना सकिएको थियो । विजयी घोषणा भएसँगै आइतबार बिहान विजयी टोलीले मतदाताको टोलटोलमा पुगेर धन्यवाद व्यक्त गरेकाे छ । ‘मतदाताको अपेक्षालाई पूरा गर्ने मेरो नेतृत्वको निर्वाचित कार्यसमितिले प्रतिज्ञा गरेको छ,’ मतदातासँगको भेटमा अध्यक्ष सुमनले भने, ‘हामी उपभोक्ताको हितका निम्ति काम गर्छौँ, तपाईंहरूले खबरदारी र सहयोग दुवै गर्नुस् ।’ उनले निर्वाचन प्रक्रियामा राजनीतिक प्रतिस्पर्धा भए पनि अब खानेपानीको सवालमा पूर्वाग्रहपूर्ण राजनीतिलाई त्यागेर साझा उद्देश्यप्रति केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाए । उनले सहयोग गर्ने मतदाता, राजनीतिक दल, संघसंस्था सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

सुझावित समाचार