आयोजक हिमालयनलाई दोस्रो हिमालयन फुटसल गोल्डकपको उपाधि

शनिबार, १४ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली फुटसल इतिहासकै सर्वाधिक धनराशि पुरस्कार रहेको दोस्रो 'हिमालयन फुटसल गोल्डकप २०८२'को उपाधि आयोजक हिमालयन एफसीले रक्षा गरेको छ । राजधानीको चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा शुक्रबार सम्पन्न फाइनलमा हिमालयन एफसीले ठमेल एकता क्लबलाई १-० गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

प्रतिस्पर्धात्मक फाइनलमा एक मात्र निर्णायक गोल हिमालयन एफसीका श्रीकृष्ण श्रेष्ठले गरेका थिए । विजयी हिमालयन एफसीले  सिल्ड, रनिङ ट्रफी, मेडलसहित नगद ३ लाख रुपैयाँको चेक भौचर आफ्नो पक्षमा पार्यो भने उपविजेता टिम ठमेलले नगद १ लाख, मेडल र रनरअप ट्रफी हात पार्यो ।

हिमालयन एफसीका दीपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिँदा  ठमेलका लाक्पा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुबैजनाले क्रमश १० हजार रुपैयाँ प्राप्त गरे । फेयर प्ले टिमको उपाधिसहित थोक्रे एफसीले नगद २० हजार रुपैयाँ हात पार्यो । हिमालयन एफसीका सुरेश श्रेष्ठ र सन्दीप तामाङले क्रमश: उत्कृष्ट प्रशिक्षक र व्यवस्थापक चुनिँदै ५ हजार हात पारे ।

नेपाल प्रहरीका डिएसपी सुकदेव खनाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव वैकुण्ठराज पराजुली, वागमती फुटबल संघका उपाध्यक्ष राजीवमान बस्नेतले विजयी टिम तथा विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

आयोजक हिमालयन एफसीका अध्यक्ष विनोद कार्कीले युवा खेलाडीको प्रतिभा प्रस्फुटन र क्षमता अभिवृद्धिको उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको भन्दै सफलतापूर्वक सम्पन्न गर्न साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । कार्कीले यो प्रकारको सफलताले आगामी दिनमा थप उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने ऊर्जा प्रदान गरेको बताए ।

३८ टिम सहभागी प्रतियोगिता दुई दिनसम्म चलेको थियो । गतबर्ष २ लाख धनराशिको पुरस्कारसहित गोल्डकप सुरू गरेको हिमालयन एफसीले यो पटकबाट रनिङ ट्रफीसमेत सुरू गरेको हो । आयोजक हिमालयन एफसी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।
 

सुझावित समाचार