लगानी सम्मेलन गर्न मुख्यमन्त्री शाहको दौडधुप

शनिबार, १४ भदौ, २०८२
डिजिटल संस्करण
  • बिहीबार उद्योगमन्त्री दामोदर भण्डारीसहितका उद्योगीसँग छलफल गरेका मुख्यमन्त्री शाहले शुक्रबार बिहान पर्यटनमन्त्री बद्री पाण्डेसहितका व्यवसायीसँग र दिउँसो परराष्ट्रमन्त्री आरजु राणा देउवाको समन्वयमा विभिन्न देशका राजदूतसँग गरे अन्तरक्रिया

सुदूरपश्चिम प्रदेशले १ र २ मंसिरमा धनगढीमा आयोजना गर्न लागेको प्रथम लगानी तथा विकास सम्मेलनको मिति नजिकिएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले दौडधुप बढाएका छन् । मुख्यमन्त्री शाहसहितको टिमले शुक्रबार काठमाडौंमा पर्यटन मन्त्रालयको सहकार्यमा पर्यटन क्षेत्र र परराष्ट्र मन्त्रालयको सहकार्यमा विकास साझेदारहरूसँग छुट्टाछुट्टै छलफल गरेको छ । त्यसअघि बिहीबार उद्योग मन्त्रालयको सहकार्यमा उद्योग–व्यवसाय क्षेत्रसँग छलफल भएको थियो । शनिबार निजी क्षेत्रसँग छलफल हुने जनाइएको छ ।

मुख्यमन्त्री शाहले उद्योग, पर्यटन, जडीबुटी, शिक्षा, स्वास्थ्यसहित क्षेत्रमा लगानी भित्र्याउन आफूहरू आतुर रहेको र लगानीका लागि आवश्यक पर्ने वातावरण बनाइरहेको बताए । ‘अहिले हामी विषयगत क्षेत्रसँग छलफल गरिरहेका छौँ । निजी क्षेत्रसँग पनि छलफल हुन्छ,’ उनले भने, ‘सबै क्षेत्रबाट आएका सुझावलाई समेटेर ऐन–नियम संशोधन गरी लगानीमैत्री बनाइनेछ । उद्योगीहरू लगानी गर्नुस्, लगानीमैत्री वातावरण र उद्योग वा व्यवसायसम्मको बाटो, विद्युत्लगायत पूर्वाधार निमार्णको जिम्मा प्रदेश सरकार लिन्छ ।’

मुख्यमन्त्री शाहले सुदूरपश्चिममा पर्याप्त सम्भावना रहेको भन्दै सबैलाई लगानीका लागि आग्रह गरे ।  

विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, संयुक्त राष्ट्रसंघका प्रतिनिधि तथा विकास साझेदार संघ–संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारी सहभागी छलफलमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रमा लगानीका लागि आग्रह गरिन् । ‘सुदूरपश्चिममा प्रशस्त सम्भावना छन्,’ शुक्रबार भएको छलफलमा परराष्ट्रमन्त्री देउवाले भनिन्, ‘संघ सरकार सुदूरपश्चिमको विकास र समृद्धिका लागि प्रतिबद्ध छ, तपाईँहरूले ढुक्क भएर लगानी गर्नुहोस् ।’

त्यसअघि शुक्रबार बिहान नै भएको अर्को छलफलमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरे । ‘सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्य आधार नेचर, कल्चर र एड्भेन्चरको सम्मिश्रण भएको प्रदेश हो । सुदूरपश्चिका थुप्रै पर्यटकीय सम्भावना उजागर भइरहेका छन् । यस लगानी सम्मेलनमार्फत सुदूरपश्चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न आह्वान पनि गर्दछु,’ उनले भने ।

बिहीबारको छलफलमा उद्योगमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिममा खनिज, जडीबुटी, पस्मिना, पशुपालन, पर्यटन, उद्योगलगायत थुप्रै सम्भावना रहेकाले लगानी गर्न आह्वान गरे ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भन्छन्–

अहिले हामी विषयगत क्षेत्रसँग छलफल गरिरहेका छौँ । निजी क्षेत्रसँग पनि छलफल हुन्छ । सबै क्षेत्रबाट आएका सुझावलाई समेटेर ऐन–नियम संशोधन गरी लगानीमैत्री बनाइनेछ । हामीसँग सीमित पूर्वाधार, न्यून लगानी, रोजगारीको सीमित अवसरजस्ता चुनौती छन् । 

सुझावित समाचार