किसानलाई बाँड्नुपर्ने अनुदानको मल व्यापारीको गोदाममा, दुई सय बोरा जफत

कोक, डिउलगायतका पेयपदार्थ र अन्य उपभोग्य वस्तुले छोपेर लुकाइएको अवस्थामा फेला, गोदाम सिल

शुक्रबार, १३ भदौ, २०८२
डिजिटल संस्करण
किसानलाई बाँड्नुपर्ने अनुदानको मल व्यापारीको गोदाममा, दुई सय बोरा जफत

कटारी बजारमा रहेको दिलीप चौधरीको अशुतोष ट्रेडर्स तथा जनल स्टोर र जयमाँकाली प्रालिबाट लुकाइएको अवस्थामा भेटिएको युरिया मल । अनुगमनका क्रममा लुकाएर राखिएको २०० बोरा युरिया मल जफत गरेर गोदाम सिल गरिएको छ ।

किसानलाई बाँड्नुपर्ने अनुदानको रासायनिक युरिया मलमा कालोबजारी भइरहेको पाइएको छ । सरकारी कम्पनी कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङले सरकारी अनुदानमा आयात गरेर ल्याउने रासायनिक मल डिपो र सहकारीमार्फत किसानलाई बिक्री गरिन्छ । तर, उदयपुरको कटारी बजारमा भने दुई सय बोरा युरिया मल व्यापारीको गोदाममा फेला परेको हो ।

कटारी नगरपालिकाकी उपमेयर गीता खड्काका अनुसार प्रशासनको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा दिलीप चौधरीको अशुतोष ट्रेडर्स तथा जनरल स्टोर र जयमाँकाली प्रालिको गोदाममा लुकाएर राखिएको युरिया मल फेला परेको हो । ‘मल कहाँबाट आयो ? कसरी निजी पसलको गोदाममा पुग्यो खुल्न सकेको छैन,’ उनले भनिन्, ‘तर सरकारी अनुदानको मल रहेको पाइएको छ ।’ शुक्रबार छानबिन समिति बनाएर अनुसन्धान हुने उनले बताइन् ।

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयका अनुसार कोक, डिउलगायतका पेयपदार्थलगायत अन्य उपभोग्य वस्तुले छोपेर लुकाइएको अवस्थामा दुई सय बोरा युरिया मल फेला परेको हो । ‘त्यो सबै सरकारी अनुदानको युरिया मल छ । तर, एउटा निजी व्यापारीको गोदाममा भेटिएकाले रहस्यमय छ । अनुसन्धान नगरी थाहा हुँदैन । छानबिन गर्ने गरी नगरपालिकालाई जिम्मा लगाएर गोदाम सिल गरेका छौँ ।’

कृषि सामग्री लिमिटेड शाखा गाईघाटका प्रमुख नरेशकुमार महतोले युरिया मलको अभाव रहेका वेला कटारीमा निजी गोदाममा फेला परेको बताए । ‘मभन्दा अगाडि यस कार्यालयमा सन्तोषकुमार यादव कार्यालय प्रमुख हुनुहुन्थ्यो । उहाँले नै दिनुभएको हो कि ? त्यो मलाई थाहा छैन । तर, कटारीकै किसानले मल नपाउँदा दुई सय बोरा भेटिनु रहस्यमय छ । मबाट गल्ती भएको छैन । म आएको एक महिना हुन लाग्यो ।’ 

अशुतोष ट्रेडर्स तथा जनरल स्टोर र जयमाँकालीका सञ्चालक दिलीप चौधरीले आप्mनो गोदाममा मल कसरी आएको थाहा नभएको जिकिर गरे । ‘पहाडतिरका मान्छेले राखेको हो कि, त्यो पनि थाहा छैन । मेरोमा मल आउँदैन । कहाँबाट कसरी आयो ? कसले ल्यायो थाहा छैन । मेरोमा मलको गोदाम फेला परेको छ ।’

८३३ रुपैयाँको अनुदानको मल, प्रतिबोरा २४०० मा बिक्री
कृषि सामग्री लिमिटेड गाईघाट शाखाका प्रमुख नरेशकुमार महतोका अनुसार सरकारी अनुदानको युरिया मलको भाउ प्रतिबोरा ८३३ रुपैयाँ छ । यो ५० किलोको बोरा हो । यसमा सहकारीले ढुवानी खर्च जोडेर नौ सयदेखि एक हजारमा बिक्री गर्ने गरेका छन् । तर, कटारीमा युरिया मल प्रतिबोरा १८ सयदेखि २४ सयसम्ममा खरिद–बिक्री हुने गरेको छ । कटारीकी उपमेयर गीता खड्काले पनि बजारमा महँगोमा मल बिक्री हुने गरेको बताइन् । ‘यसअघि व्यापारीले धेरै महँगोमा मल बिक्री गरेको थाहा पाएपछि हामीले त्यसो नगर्न सुझाव दिएका थियौँ, अहिले त निजी गोदाममा मल फेला पर्यो,’ उनले भनिन् ।

उदयपुरगढी गाउँपालिका– १ का कृषक मनोज खत्रीले साहुजीको नाम थाहा नपाएको बताउँदै कटारीबाट १९ सय ५० रुपैयाँ तिरेर ५० किलोको एक बोरा युरिया ल्याएर धान रोपेको बताए । ‘उदयपुरगढी गाउँपालिकाका कुनै सहकारीमा पनि युरिया पाइनँ । अनि कटारीमा पाइन्छ भनेर जाँदा गोप्य रूपमा पाएको थिएँ । जरुरी रहेको वेला ल्याउनुपर्यो,’ उनले भने । कटारी क्षेत्रमा कृषि सामग्रीले सातवटा र साल्ट टे«डिङले पाँचवटा सहकारीमार्फत मल वितरण गर्दै आएका छन् । उदयपुरमा किसानको मागअनुसार रासायनिक मल (युरिया, डिएपी र पोटास) नआउँदा अभाव हुने गरेको कृषि सामग्रीको उदयपुर शाखाले जनाएको छ । 

उदयपुरमा वार्षिक युरिया, डिएपी, पोटास झन्डै पाँच हजार टन आवश्यक पर्छ । तर, त्यसको आधा मात्र आउँछ । चालू आर्थिक वर्ष ०८२/८३ का लागि युरिया तीन हजार टन, डिएपी एक हजार पाँच सय टन, पोटास ५० टन र कृषिचुन २१ टन गरी चार हजार ७१ टन माग गरिएको छ । तर, हालसम्म एक सय बोरा डिएपी मात्र आइपुगेको छ ।

सुझावित समाचार