प्रधानमन्त्रीको चीन भ्रमणअघि नै नेपाल प्रहरीमा आइजिपीबारे निर्णयको गृहकार्य

बिहिबार, १२ भदौ, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाको कार्यकाल ६ दिन मात्र बाँकी रहँदा नयाँ नेतृत्व चयनबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाने भएकाले सहमति भएमा त्यसअघि नै नेपाल प्रहरीको आइजिपीको सम्बन्धनमा निर्णय गर्ने कसरत भइरहेको छ । 

३० वर्षे सेवाहद हटाएर आइजिपी थापालाई नै निरन्तरता दिन एक समूहको प्रयास पनि जारी छ । उनको सेवाअवधि थप नभएमा एआइजी चन्द्रकुबेर खापुङ ७२ दिनका लागि आइजिपी हुने सम्भावना छ । 

प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाबिच यस विषयमा बुधबार छलफल भएको स्रोत बताउँछ । सहमति भएमा शुक्रबार मन्त्रिपरिषद् बैठकबाट  प्रहरीको नेतृत्वबारे निर्णय गर्ने सम्भावना रहेको गृह मन्त्रालय स्रोत बताउँछ । 

प्रधानमन्त्री ओली १८ गते चीन भ्रमणबाट फर्कनेछन् । सोही दिन फर्किएर निर्णय गर्दा प्रहरीमा समस्या हुन सक्ने भएकाले चीन भ्रमणमा जानुअघि नै निर्णय गर्न छलफल भइरहेको हो । 

नेपाल प्रहरीका पछिल्लो समय हरेकपटक आइजिपीले अवकाश पाउने समयमा ३० वर्षे सेवाहद हटाउने प्रयास हुने गरेको छ । यसमा आफ्नो व्यक्तिगत स्वार्थ हेरेर प्रहरी अधिकारी दुई थरी लबिङमा लाग्ने गर्दछन् । अहिले पनि त्यही दृश्य प्रहरीमा देखिएको छ । यसमा राजनीतिक नेतृत्व मात्र नभएर प्रहरीका ठेकदारहरूसमेत आफूअनुकूल निर्णय गराउन लागिपरेका छन्। 
 

सुझावित समाचार