- लिगका लागि मंगलबार फ्रेन्चाइज टोली लुम्बिनीले दुई र पोखराले एक विदेशी खेलाडी भित्र्याए
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई अनुबन्धन गरेको छ । लुम्बिनीले रसियाकी केसेनिय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई भित्र्याएको जनाएको छ । प्रतियोगिताको नयाँ टोलीका रूपमा रहेको लुम्बिनीले प्रतिस्पर्धामा विपक्षीलाई चुनौती दिन रसिया र किर्गिस्तानबाट दुई खेलाडीलाई थप गरेको हो ।
रसियाको राष्ट्रिय लिगमा लामो अनुभव बटुलेकी केसेनिया आउटसाइड हिटर हुन् । उनको शक्तिशाली स्पाइक, बलियो ब्लकिङ र स्थिर डिफेन्सले टोलीलाई महत्वपूर्ण हुन सक्ने लुम्बिनीले लिएको छ । किर्गिस्तानको राष्ट्रिय टोलीकी सदस्य रहिसकेकी कुलोभा पनि आउटसाइड हिटर पोसेसनबाट खेल्छिन् । उनको प्रभावशाली प्रहार गर्ने क्षमता र निरन्तर ऊर्जा भर्ने शैलीले टोलीलाई थप गतिशीलता दिने विश्वास टोलीले लिएको छ ।
लुम्बिनीले पहिलो विदेशी खेलाडीका रूपमा रसियाकी ब्लकर भेरोनिका जुवरेभालाई भित्र्याएको थियो । लुम्बिनीले अक्सनमार्फत राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, अनुशा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई टोलीमा समावेश गरेको छ । यस्तै, ट्यालेन्ट हन्टबाट जानकी केसीलाई अनुबन्धन गरेको छ ।
एडेओला पोखरामा आबद्ध
फ्रेन्चाइज टोली पोखरा निन्जाजले अमेरिकाकी २५ वर्षीया अपोजिट हिटर एडेओला ओवोकोनिरानलाई लिगमा अनुबन्धन गरेको छ । उनी पोखराकी दोस्रो विदेशी खेलाडी हुन् । लिगमा सहभागी जनाउन एडेओला नेपाल आइसकेकी छिन् । उनीसँग अमेरिकाको यू–२१ राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेको अनुभव छ । उनले विभिन्न अन्तर्राष्ट्रिय लिगहरूमा सहभागिता जनाएकी छिन् ।
पोखराले अमेरिकन खेलाडी भित्र्याउन पाउँदा धेरै उत्साहित भएको जनाएको छ । ‘अमेरिकी खेलाडीको आगमनले खेलमा नियन्त्रण बनाउन सहज देखिएको छ,’ पोखराले जनाएको छ । एडेओला पनि नेपाल आएर लिग खेल्न पाउँदा आफू निकै हर्षित भएको बताइन् । लिग २० देखि २८ भदौसम्म पोखरामा हुनेछ ।