टाटा सुमोको ठक्करबाट युवकको मृत्यु, न्याय माग्दै कलैया–वीरगन्ज सडक अवरुद्ध

सोमबार, ९ भदौ, २०८२
डिजिटल संस्करण

कलैया–वीरगन्ज सडकखण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएको छ। आइतबार राति टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएपछि स्थानीयवासी आन्दोलित बनेका हुन्।

बाराको कलैया उपमहानगरपालिका– २३, बैराठपुरका ३२ वर्षीय उपेन्द्र राउत कुर्मीको उक्त दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । कुर्मी सवार बा. ५८ प ४०५३ नम्बरको मोटरसाइकल र ना. १ ज १९९१ नम्बरको टाटा सुमो आइतबार राति करिब ९:३० बजे प्रसाैनी गाउँपालिकास्थित कोइरियाटोल र सिसहनियाँबिच ठोक्किएका थिए।

गम्भीर घाइते भएका कुर्मीलाई उपचारका लागि नौतनास्थित एल.एस. न्युरो एन्ड जनरल अस्पतालमा पुर्याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। दुर्घटनापछि सुमोचालक गाडी छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक बलराम श्रेष्ठले बताए। ‘गाडी नियन्त्रणमा लिइएको छ, चालकको खोजी भइरहेको छ,’ उनले भने।

पीडित परिवारले भने सुमोचालकले कुर्मीलाई ठक्कर दिएर गाडी ब्याक गरी पुनः माथि चढाएको आरोप लगाएका छन्। अस्पतालको प्रारम्भिक रिपोर्टअनुसार मृतकको एउटै खुट्टामा चार–पाँच स्थानमा हड्डी भाँचिएको उल्लेख छ। दुर्घटनामा न्यायको माग गर्दै स्थानीयवासीले कलैया–वीरगन्ज सडक पूर्ण रूपमा अवरुद्ध गरेका छन्। प्रदर्शनकारीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

सुझावित समाचार