नवलपुरको गैँडाकोटमा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिका– २, नारायणी नदी पुलको बिचमा गैँडाकोटबाट नारायणगढतर्फ जाँदै गरेको ना १ क ५१९९ नम्बरको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा परी मोटरसाइकलचालक नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षका मुनाल दाहालको मृत्यु भएको छ। मोटरसाइकलपछाडि सवार गैँडाकोट– ४ निवासी २७ वर्षीय प्रतीक घिमिरे सामान्य घाइते भएका छन्।
दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकलचालकको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रकले मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो।
ठक्कर दिने ट्रक र ट्रकचालक सिन्धुलीको गोलन्जोर गाउँपालिका– ९ निवासी ३५ वर्षीय तुक्तबहादुर आलेमगर चितवन प्रहरीको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ।