कांग्रेसकी केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले कांग्रेसलाई मिसन ८४ को आवश्यकता नहुने बताइन् । उनले देशकै ठुलो राजनीतिक दललाई सधै जनताले साथ दिएका कारण कुनै मिसन आवश्यक नपर्ने बताएकी हुन् ।
आइतबार कांग्रेस बागलुङको महिला विभागले आयोजना गरेको तिज विशेष कार्यक्रममा भुसालले अहिले केही नयाँ राजनितिक दल मिसन ८४ र मिसन अधिवेशनको दौडानमा रहे कांग्रेसलाई त्यो आवश्यकता नरहेको बताइन् ।
उनले कांग्रेस संघीय लोकतान्त्रिक गठतन्त्रलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा रहेको हुँदा कुनै मिसनमा नहरेको बताइन । उनले जनताले आफ्नो अमुल्य मतबाट सम्मान गरेर सदनमा पठाएका सांसदले देश र जनताको चिन्ता भन्दा पनि मिसन ८४ को नारा लगाएर हिँडेको र अहिलको सरकारलाई काम गर्ने वातावराण सिर्जना नगरेको दाबी गरिन् ।
‘अहिलेको वर्तमान समयमा देशलाई सही मार्गमा हिँडाउन पर्ने छ, संसदबाट सरकारलाई खबरदारी गर्नु पर्नेमा मिसन ८४ को नारा लगाउँदै हिँड्ने काम भएको छ,’ उनले भनिन्, ‘केवल निर्वाचन केन्द्रित राजनीतिले देशको विकास सम्भव छैन । देश विकासका लागि वर्तमानमा केन्द्रित हुनुपर्छ ।’ उनले मुलुकमा दिगो शान्तिको स्थायित्व गराएर भोलिका युवा पुस्तालाई परिवर्तनका नाममा सडकमा उत्रिन बाध्य नपार्ने कांग्रेसको योजना रहेको बताइन ।
भुषालले लोकतन्त्र स्थापनादेखि अहिलेसम्म लोकतन्त्रकै पक्षमा वकालत गर्दै आएको पार्टी कांग्रेस मात्रै भएको बताइन् । ‘प्रजातन्त्र स्थापना र लोकतन्त्र रक्षाका लागि कांग्रेस र पार्टीको जन्म भएको हो,’ उनले भनिन्, ‘कांग्रेसकै संघर्षबाट देशमा प्रजातन्त्र पनि आयो । यसलाई जोगाउनका लागि पटक पटक कांग्रेसले संघर्ष गर्दै आएको छ । कांग्रेस कमजोर हुँदा लोकतन्त्रनै कमजोर हुन्छ । त्यसका लागि कांग्रेस बलियो हुनुपर्छ ।’
भुसालले फेरी प्रजातन्त्रका लागि संघर्ष गर्नुपर्ने अवस्था नआओस् भन्नका लागि पनि कांग्रेसका आस्थावान र लोकतन्त्रवादीहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताइन् ।
संविधानसभा सदस्य समेत रहेकी नेतृ भुसालले देशको ५१ प्रतिशत हिस्सा ओगटेका महिलाको राज्यले सही उपयोग गर्नसक्नु पर्ने बताइन् । उनले महिला आरक्षित सिटमा मात्र नभई प्रत्यक्ष निर्वाचनबाट चुनाव जित्नेगरी क्षमता विकास गर्नुपर्ने बताइन् ।
तीज पर्व पनि विद्रोहको प्रतिक भएको उनको भनाइ छ । ‘तिज पनि एउटा विद्रोहको प्रतिक हो, पार्वतीले शिव नै पति पाउनुपर्छ भनेर बुबा आमाको कुरा नमानी व्रत बसेका कारण उहाँले आफुले चाहेको श्रीमान पाउनुभयो,’ उनले भनिन्, ‘महिलाले आफ्नो अधिकार र छनोटका लागि विद्रोह गर्नुपर्छ भनेर यसले पनि देखाउँछ ।’
कार्यक्रममा केन्द्रीय सदस्य चम्पादेवी खड्काले चाडपर्वले एकता र समभाव राख्न सिकाउने बताइन् । कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले कांग्रेस बलियो बनाउन सबै एक ढिक्का हुनुपर्ने बताए ।