एन्फा राष्ट्रिय महिला लिग छनोट, लुम्बिनीको कठिन जित

शनिबार, ३२ साउन, २०८२
डिजिटल संस्करण

एन्फा राष्ट्रिय महिला लिग फुटबल छनोट प्रतियोगिता शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा लुम्बिनीले लम्की फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले हराएको छ । लुम्बिनीको जितमा करुणा परियारले एक मात्र गोल गरेकी थिइन् । सात टोली रहेको समूह ‘बी’मा लुम्बिनीले तीन अंक बटुल्यो ।

खेलको ६३औँ मिनेटमा करुणाले लम्कीका डिफेन्डरको गल्तीमा निर्णायक गोल गरेकी हुन् । करुणाले डिबक्सको आठ यार्डबाट हेडिङ गोल गरेकी हुन् । खेलमा थप गोल हुन नसक्दा करुणाकै गोलको सहयोगमा लुम्बिनीले आफ्नो पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो । यसअघि समूह ‘बी’मा संकटाले पहिलो खेलमा रौतहटको नेपाल खेलकुद क्लबमाथि १–० को जित निकालेको थियो । समूहमा शीर्ष दुई स्थानमा रहने टोलीले सीधै महिला लिगमा स्थान बनाउनेछन् । यसैगरी, तेस्रो हुने टोलीले प्लेअफमार्फत राष्ट्रिय लिगमा स्थान बनाउन सक्छ । 

समूह ‘बी’मा लुम्बिनी, न्युरोड टिम (एनआरटी), एनबिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की र नेपाल खेलकुद क्लब छन् । अर्को समूह ‘ए’को खेलमा आरएस रिसोर्ट एन्ड बिचले राप्ती एफसीमाथि १–० को साँघुरो जित निकाल्यो । आरएस रिसोर्टको जितमा ईशा चौधरीले एक मात्र गोल गरेकी थिइन् । यसै समूहमा छहारी युवा क्लबले तीन अंक बटुलेको छ । 

१० खेलाडीमा राप्ती 
समूह ‘ए’मा चर्च ब्वाइज युनाइटेड, छहारी, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एन्ड बिच र एफसी रिएले छन् । आरएस रिसोर्ट एन्डविरुद्ध राप्ती खेलको ३८औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । समीक्षा पौडेलले दोहोरो पहेँलो कार्ड व्यहोरेपछि राप्तीले १० खेलाडीमा रही बाँकी समय प्रतिस्पर्धा गर्यो ।

यद्यपि, आरएस रिसोर्टले फाइदा लिन सकेन । राप्तीले आरएस रिसोर्टलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्यो । खेलको ५१औँ मिनेटमा ईशा चौधरीले आरएस रिसोर्टलाई १–० को अग्रता दिलाइन् । उनले उषा शाहीको पासमा गोल गरेकी हुन् ।

See More On

सुझावित समाचार