नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

मृतक गोमा ग्रिन फाउण्डेशन नेपाल नवलपुरकी जिल्ला उपाध्यक्ष हुन्

शुक्रबार, ३१ साउन, २०८२
डिजिटल संस्करण

नवलपुरमा घरायसी विवादका कारण श्रीमान्–श्रीमतीबिच विवाद हुँदा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ३, उदयटारीनिवासी ५० वर्षीय महेन्द्र पौडेलले घरायसी विवादमा आफ्नै श्रीमती ४७ वर्षीया गोमा पौडेलको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार आज बिहान साढे १० बजेतिर उनले तरकारी काट्ने चक्केले आफ्नै श्रीमतीको घाँटी रेटी हत्या गरेका हुन् । हत्यामा संलग्न श्रीमान् महेन्द्र पौडेललाई चक्कुसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । घटनास्थल अस्थायी प्रहरी चौकी सर्दीबाट दुई किलाेमिटर पूर्वमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेका कारण हत्याको यथार्थ कारण खुल्न बाँकी रहेको नवलपुर प्रहरीले जनाएको छ । 

मृतक गोमा ग्रिन फाउन्डेसन नेपाल नवलपुरकी जिल्ला उपाध्यक्ष हुन् ।

See More On

सुझावित समाचार